Logo
Logo

माओवादीमा प्रचण्डविरुद्ध बोल्यो कि पोल्यो, जनार्दनलाई कारबाही गर्ने तयारी ! 


5.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राखिरहेका छन् । शुक्रबारबाट जारी स्थायी कमिटीको बैठकमा सोमबार सक्ने तयारी छ ।

बैठकमा पार्टी अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिचको विवाद छताछुल्ल भएको छ । शर्माले आइतबार बैठकमा पार्टी अध्यक्ष प्रचण्डलाई समेत आत्मालोचना गर्नुपर्ने माग गरेपछि अध्यक्ष प्रचण्डले ‘गल्ती गर्नेले मात्र आत्मालोचना गर्छ’ भनेर प्रत्युत्तर दिएका छन् । यो भनाइसँगै दुवै नेताबीचको मतभेद झनै चुलिएको छ ।

स्थायी समितिको बैठक सकिएर बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले जनार्दनको नाम नलिए पनि उनीप्रति लक्षित गर्दै आत्मालोचनासम्बन्धी उक्त टिप्पणी गरेका थिए ।  प्रचण्डले भनेका छन्  ‘जसले गल्ती गरेको छ उसले आत्मालोचना गर्छ ।’

यसअघि साउन १६ गते सुरु भएको बैठकमा प्रचण्डले पार्टीभित्र अनुशासनहीनता बढेको र आन्तरिक कुरा बाहिर पुर्‍याइएकोप्रति गुनासो गरेका थिए । 

बैठकमा जनार्दनले पार्टी निर्माणको सवाल उठाउनु अपराध हो भने सजाय भोग्न तयार रहेको बताएका छन् । उनले भनेका छन्, ‘मैले पार्टी निर्माणका लागि सबैका सामु प्रश्न उठाएँ, अरूले भित्रभित्रै यो पार्टी बन्दैबन्दैन भन्दै हिँडेका छन्। तर जति धकेल्न खोजेपनि म पार्टीमा अडिइरहन्छु।’

उनले माओवादीले ३१ लाखबाट ११ लाख मतमा झर्नुको जिम्मेवारीमाथि प्रश्न उठाउँदै भनेका छन्, ‘त्यसमा मेरो कमजोरी छ भने म आत्मालोचना गर्न तयार छु। होइन भने अन्य जिम्मेवार ठाउँबाट पनि आत्मालोचना आवश्यक छ।’

बैठकमा अधिकांश सदस्यले नेतृत्वविरुद्ध जनार्दनको आलोचना अस्वीकार्य भएको बताएका थिए। उनीहरूले प्रचण्डको विकल्प खोज्न नहुने निष्कर्ष निकालेका छन् ।  प्रचण्डको विकल्प खोज्ने प्रयासलाई अनुशासनहीनता ठहर गर्दै शर्माले आत्मालोचना गर्नुपर्ने नेताहरूको निष्कर्ष छ । 

पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको कुरा उठाएका उपमहासचिव शर्माले पार्टी अनुशासन तोडेको नेताहरूको मत छ । महासचिव देव गुरुङले  प्रचण्ड राजनेता भएको दाबी गर्दै अहिले उनको विकल्प खोज्न नहुने तर्क गरेका छन् । 

स्थायी कमिटी बैठकको अन्तिम दिन आज (सोमबार) सम्बोधन गर्दै गुरुङले राजनीतिक जिम्मेवारी र भूमिकाका कारण प्रचण्ड राजनेता बनेको भन्दै यसलाई उनले खुसीको कुरा बताए । 

उनले अहिले प्रचण्डको नेतृत्व नै आवश्यक रहेकाले त्यसबारेमा विवाद गर्न नहुने पनि बताए । उनले भने, ‘बाबुराम र किरणजीहरूले पनि पार्टीमा पुस्तान्तरणको कुरा उठाउनुभएको थिएन । अहिले नेतृत्वमा पुस्तान्तरणको कुरा गर्न खोज्नु गलत छ ।’

त्यस्तै उपाध्यक्ष अग्नि सापकोटाले पार्टीभित्रको अराजकता अन्त्य गर्न सबै नेताहरू जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताए  । उनले पार्टीभित्र व्यक्तिवादी चरित्र हाबी भइरहेको बताएका छन् । पार्टीमा सामूहिक स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हाबी हुँदा त्यसले पार्टी र नेतृत्वप्रति नकारात्मक सन्देश गएको उनले बताए । 

‘पार्टीका नेताहरूले पार्टीभित्र फैलिँदै गएको गुट–उपगुट भंग गर्नुपर्ने माग भएको छ’, पार्टी प्रवक्तासमेत रहेका सापकोटाले भने, ‘पार्टीभित्र व्यक्तिवादी अराजकता र अनुशासनहिनता बढेर गयो । अब यसलाई सबैले आत्मालोचना गर्दै पार्टीमा शुद्धीकरण अभिायन चलाउने कुरा भएको छ ।

उपमहासचिव जनार्दन शर्माले ३१ लाख जनमत ११ लाखमा झर्नुको कारण नेतृत्वको कमजोरीका कारण भएकाले आत्मालोचना गर्नुपर्ने मत राखेका थिए । त्यसको जवाफमा सापकोटाले भने– ‘राजनीतिमा ३१ लाखबाट ११ लाखमा झर्‍यो भने ११ लाखबाट ३१ लाखमा पनि पुग्न सक्छ । अध्यक्षले आत्मालोचना गर्न केही काम गर्नुभएको छैन । एकाधले भनेको कुनै अर्थ छैन ।’

अध्यक्ष  ‘प्रचण्ड’विरुद्ध बोलेका शर्मामाथि कारबाहीको तयारी समेत भएको स्रोतको दाबी छ । प्रचण्डमाथि प्रश्न उठाउँदै आत्मालोचना गर्न नमान्ने शर्मासँग पार्टीले स्पष्टीकरण माग्ने तयारी भएको स्रोतले जनाएको छ ।

स्थायी कमिटी बैठकमा शर्माले पुस्तान्तरण, नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको सवाल जोडतोडले उठाएका छन् । यो प्रस्तावले माओवादी केन्द्रभित्र बबन्डर नै मच्चिएको छ ।  तर, अंकगणितमा भने शर्मा निकै कमजोर देखिएका छन् । स्थायी कमेटिका अधिकांस सदस्यहरू अध्यक्ष प्रचण्डको पक्षमा उभिएका छन् । 

शर्माले लामो समयदेखि प्रचण्डको नेतृत्व शैलीप्रति असन्तुष्ट जनाउँदै आएका छन् । अहिले पनि अधिकांश नेताहरू प्रचण्डको लाइनमा उभिँदा शर्माले फरक धारणा राखिरहनु, बैठकमा समेत झुक्न नखोज्नु र बाह्य दलका नेतासँग वैचारिक बहसमा सहभागी हुनुले पार्टीभित्रको विवाद चर्कँदो दिशामा गएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्