
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमा रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार हुन ९ जनाले आवेदन दिएका छन् । उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकहरुलाई साउन ७ देखि २१ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरेकोमा ९ जनाले आवदेन दिएको रास्वपाले जनाएको छ ।
रास्वपाले निवेदन दिएकाहरुको नामावली बिहीबार नै प्रकाशित गरेको छ । जसमा शुलभ खरेल, पाथवेन्द्र उपाध्याय, डा.लेकजंग थापा, ज्ञानु पौडेल, जित बहादुर गुप्ता, कुशम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रहवाल र मधुप्रसाद अर्यालले उम्मेदवार बन्न आवेदन दिएका छन् ।
उम्मेदवारी उपर दाबी विरोधका लागि साउन २३ र २४ का लागि छुट्याइएको भने साउन २५ गते उम्मेदवारका लागि निवेदन दिनेहरूसँग छलफल राखिएको रास्वपा सहामहामन्त्री विपिन आचार्यले जानकारी दिए ।
साउन २६ मा प्रारम्भिक उम्मेदवार नामावली प्रकाशन, साउन २७ देखि भाद्र ११ सम्म लिडरसीप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटि र समावेशिताको मापन गरिने उनले बताए ।
रास्वपाले रुपन्देही–३ को उम्मेदवारका लागि प्रारम्भिक निर्वाचनबाट उम्मेदवार छनोट गर्ने विधि बनाएको छ । त्यसका लागि भाद्र १२ र १३ का लागि समय छुट्याइएको आचार्यले बताए । उम्मेदवार अन्तिम चयन १५ भदौमा गर्ने उनको भनाइ छ ।
निर्वाचन आयोगले रुपन्देही–३ मा कात्तिक १७ गते का लागि उपनिर्वाचनको समय तोकेको छ । राप्रपाका सांसद दीपक बोहराको निधन भएपछि उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।














