काठमाडौं । स्पेनले अमेरिकासँगको रक्षा र विदेश नीतिमा तनाव बढेपछि एफ-३५ लडाकु विमान नकिन्ने निर्णय गरेको छ । यसको सट्टा पुराना विमानहरूलाई युरोपमै निर्मित युरोफाइटर र फ्युचर कम्ब्याट एयर सिस्टम (एफसीएएस) ले विस्थापित गर्ने योजना बनाएको छ ।

अमेरिकाले स्पेनलाई २०३५ सम्ममा रक्षा बजेट जीडीपीको ५ प्रतिशत पुर्याउन दबाब दिएपछि सम्बन्ध जटिल बनेको हो । स्पेनले यसअघि २५ वटा युरोफाइटर किन्ने सम्झौता गरिसकेको छ, जसको डेलिभरी २०२६ देखि २०३० सम्म हुनेछ ।
यसले स्पेनसँग युरोफाइटरको सङ्ख्या ११५ पुग्नेछ । एफसीएएस भने २०४० पछि मात्र प्रयोगमा आउने अपेक्षा छ । विपक्षी दलले रक्षामन्त्री मार्गरिटा रोबल्ससँग संसद्मा जवाफ मागेका छन् । नेटो मुलुकमध्ये पोर्चुगलपछि स्पेन दोस्रो मुलुक हो जसले एफ-३५ को विकल्प खोजेको छ ।











