बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । वार्तामा सीले युक्रेन सङ्कटमा चीनको तटस्थ अडान दोहोर्याउँदै शान्तिका लागि संवाद र कूटनीतिको पक्षमा जोड दिए ।

उनले रुस र अमेरिकाबीचको संवादलाई स्वागत गर्दै यसले सङ्कटको राजनीतिक समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । दुवै नेताले आगामी शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा सहकार्य गर्ने सहमति जनाएका छन् ।
तिआनजिन, चीनमा आयोजना हुने यो सम्मेलनलाई मैत्री र ऐक्यबद्धताको मञ्च बनाउने प्रतिबद्धता उनीहरूले व्यक्त गरे ।
यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिन र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग त्रिपक्षीय बैठकको योजना बनाएका छन् । न्यूयोर्क टाइम्सका अनुसार, यो बैठक अगस्त ११ मा इटालीको रोममा हुन सक्छ । ट्रम्पले पुटिनसँगको भेटलाई रुस–अमेरिका सम्बन्ध सुधारको अवसर मानेका छन् । रुस–युक्रेन युद्ध सन् २०२२ देखि जारी छ। चीनले संयमित मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै संवादमार्फत शान्तिपूर्ण समाधानको वकालत गरिरहेको छ ।











