
निर्देशक समुद्र्र भट्ट निर्देशित फिल्म ‘गुन्यूचोलो’ आगामी भदौ १३ गतेबाट प्रदर्शनमा आउँदै छ । दर्शकले ‘गुन्यूचोलो’को पोष्टर र गीत रुचाएका छन् । फिल्मको पोष्टर र गीत हेरेर अहिले निर्देशक भट्टले चर्चा पाइरहेकी छिन् । निर्देशक भट्ट दर्शकको प्रतिक्रियाबाट दंग छिन् । उनी भन्छिन्, ‘दर्शकको प्रतिक्रियाबाट आशावादी छु ।’ शीर्षक सुन्दै ‘गुन्यूचोलो’ नारीप्रधान फिल्म हो । त्यसैले सो फिल्म नारीहरूको विशेष पर्व तीजको अवसरमा रिलिज गरिँदै छ । यसअघि ‘रिङरोड’ र ‘आधा पेज’ दुई फिल्म निर्देशन गरेकी निर्देशक तथा निर्माता समुद्र भट्टसँग रेजिना पाण्डेको जम्काभेट :
आफ्नो फिल्मको नाम किन परिवर्तन गर्नुभयो ?
यो फिल्म नेपालमा मात्र सीमित नभएर देशबाहिर भनाँै या ग्लोबलाइज जाने भएकाले नाम फेरिएको हो । त्यसैले ‘गुलाबी’ नामभन्दा ‘गुन्यूचोलो’ ठिक हुन्छ कि जस्तो भएर नाम फेरिएको हो । यो शब्दले नेपालीपन पनि झल्काउने भएकोले र कथा पनि यही परिवेशमा केन्द्रित छ । त्यसैले नाम परिवर्तन गरेका हौँ ।
फिल्मको गीत र पोष्टरले चर्चा पाइरहेको छ, व्यवसायिक सफलता पाउनेमा कतिको विश्वस्त हुनुहुन्छ ?
अवश्य पाउँछ भन्ने आशा छ । म त भन्छु, अहिले जुन चर्चा छ, त्योभन्दा बढी सफलता पाइन्छ । फिल्म दर्शकले हेर्नै पर्ने बनेको छ । यो फिल्म हलसम्म पुगेर जसले हेर्नेछ, उसले अरुलाई पनि भन्ने छ– गुन्यूचोलो तिमी पनि एकचोटी हेर ।
फिल्म ‘गुन्यूचोलो’मा हेर्नैपर्ने के छ ?
सबैले आफ्नो चिजको बयान गर्छन् । तर म सत्य कुरा भन्छु– यो समाजभित्रै लुकेर बसेको कथा हो– गुन्यूचोलो । समाजमा लुकाइएको अर्थात नदेखिएको विषयवस्तुलाई यो फिल्ममा उतारिएको छ । यो फिल्ममा दर्शकले नयाँ स्वाद पाउनेछन् ।
‘गुन्यचोलो’ कस्तो फिल्म हो ?
यो समाजको कथा बोकेको फिल्म हो । फिल्मले समाजको पीडा बोकेको छ । समाज भित्रकै कथा होभन्दा फरक पर्दैन । अरु बाँकी हलमा गएर फिल्म हेरेपछि थाहा हुन्छ ।
यो फिल्मले समाजलाई के दिन्छ ?
दिन्छभन्दा पनि फिल्म कस्तो बनेको छ भन्ने हो । फिल्म हेर्दा कतिको मन छुन्छ, कतिको मन परेको स्वाद पाइन्छ र दुई घण्टा समय खेर गएन भनेर पक्कै भन्नु हुनेछ ।
फिल्ममा नायकलाई जुन क्यारेक्टरमा उतार्नुभएको छ, त्यो कतिको सहज भयो ?
यो त तपाईँहरूले सिनेमा हेरेर थाहा पाउनुहुन्छ । किनकि, नायकको तौल घटाउनेदेखि एउटा पात्रलाई तयार पार्न वर्षौँ लागेको थियो । रिसर्च गरेर पात्रलाई क्यारेक्टरमा ढाल्न जति सोचेको थिएँ, नाजिरले पनि उत्तिकै मिहेनत र सर्घष गरेको छ ।
‘गुन्यूचोलो’को मुख्य क्यारेक्टरमा नाजिर हुसेनलाई नै किन रोज्नुभयो ?
मलाई लाग्छ– सिनेमामा पात्र छान्दा सेलिबे्रटी र स्टार भनेर छान्ने होइन, कथाले मागेको पात्र छान्न सक्नुपर्छ । फिल्म ‘गुन्यचोलो’को लागि नाजिर नै सही पात्र हो जस्तो मलाई लाग्यो । उसले कथालाई पनि न्याय दिएको छ । यसमा कुनै शंका छैन ।
यो फिल्म निर्माण गर्ने सोच कसरी आयो ?
यो फिल्म निर्माण गर्ने सोच, रिसर्च र हलसम्म आइपुग्दा लगभग चार वर्ष नै लाग्यो । किनभने यो फिल्म बनाउन कथाबस्तु सहज नभएकाले धेरै सोचेर बुझेर नै बजारमा ल्याउनुपर्ने भएकाले लामो समय लागेको हो ।
अरुले वर्ष दिनमै फिल्म बनाएर रिलिज गर्छन । तर, तपार्इँले एउटै फिल्मका लागि यति लामो समय खर्चिँदा केही फरक परेन ?
परेन, अरुको कुराभन्दा पनि मलाई चाहिँ हलसम्म फिल्म आइसकेपछि दुखित हुनुभन्दा मिहेनत गरेर दर्शकले हेर्न खोजेको पाओस् भन्ने हो । किनभने, हामी दर्शकका लागि फिल्म बनाउँछौँ । दर्शक हलसम्म नपुग्दा मिहेनत खेर जान्छ ।
फिल्म चल्नलाई ‘लक’ चाहिन्छ भन्छन् नि ?
त्यो पनि होला । तर, ‘लक’कै भर परेर लापरबाही त गर्न सकिँदैन नि । हो, कहिले गीतकै भरमा धेरै दर्शक हलसम्म पुगेर निराश भएका पनि छन् । कहिले सेलिबे्रटी राखेर फिल्म चल्छ भन्नेहरूको ‘ब्याडलक पनि भएको छ ।
श्रीमान् निर्माता हुँदा निर्देशकका रुपमा काम गर्न कतिको सहज हुँदोरहेछ ?
मेरो श्रीमान आकाश बुढाथोकी ‘गुन्यचोलो’ फिल्मबाट निर्माता बन्नुभयो । दुवैजना एउटै क्षेत्रको हँुदा काम गर्न त सहज भइहाल्छ नि । आफ्नै मान्छे निर्माता हुँदा सहमतिमा काम हुन्छ ।
तपाईँ फिल्म क्षेत्रमा पढेर कि सिकेर आउनुभएको हो ?
मेरा अघिल्ला दुई फिल्म हेरेर, अनुभव बटुलेको भरमा काम गरेको थिएँ । पछि, यतिले नपुग्ने भएपछि क्यानडमा १८ महिना तोरनङ्गो फिल्म स्कुलबाट फिल्म सम्बन्धित कोर्ष पढेँ । अनुभव र देखेको भरमा काम गर्दा र पढेर काम गर्दा धेरै भिन्नता हुँदोरहेछ ।
तपाईँ गीत पनि गाउनुहुन्छ होइन ?
गीतभन्दा पनि म साउन महिनामा भजन गाउछु । म शिवभक्त भएको कारण साउन महिनामा शिवको महत्व र महिमा धेरै भएकाले पनि शिवभजन गाउँछु । साउन महिनामा भजन गाउँदा राम्रो हुन्छ र मेरो शिव खुशी हुन्छन् जस्तो लाग्छ । लगभग मैले दुई दर्जनजति भजन गाइसकेको छु । मलाई शिवभजन गाउँदा रमाइलो लाग्छ ।
तपाईँलाई भगवान शिवको कुन रुप राम्रो लाग्छ ?
सबैले मलाई शिवको रुद्र रुप भन्छन् । मलाईचाहिँ शिवको सबै रुप मनपर्छ । शिवप्रति आस्था र विश्वास छ ।
आउँदै गरेको तीज कसरी मनाउँदै हुनुहुन्छ ?
म खासै तीज मनाउँदिन । तीजको दिनमै मेरो आमा बित्नुभएको थियो । यसले गर्दा माइतीमा पनि तीज मनाइँदैन । आमा नभएपछि चाडवाड, माइती केही नहँुदोरहेछ । तर, तीजमा व्रतचाहिँ बस्छु ।











