काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा अप्रत्याशित रूपमा ठूलो सङ्ख्यामा अवलोकनकर्ताहरूको सहभागिताले प्रदर्शनी स्थलमा उत्साहको वातावरण सिर्जना भएको छ ।

पाँच दिनसम्म चल्ने भनिएको यो एक्स्पोलाई दर्शकको माग र उत्साहलाई सम्बोधन गर्न एक दिन थप गरिएको छ । अब यो प्रदर्शनी श्रावण २६ गते, सोमबारसम्म खुला रहनेछ । शनिवारको मुसलधारे वर्षाका बाबजुद पनि प्रदर्शनी निर्बाध रूपमा सञ्चालन भयो ।
सवारीसाधन अवलोकन, सोधपुछ, बुकिङ र खरिदका लागि अवलोकनकर्ताहरूको घुइँचो लागेको छ । विशेषगरी कार्यालय समयमा व्यस्त रहने व्यक्तिहरूले शनिवार उत्साहजनक सहभागिता जनाएका छन् । एक्स्पोको पहिलो तीन दिनमा सर्वसाधारण, वरिष्ठ कलाकार, कूटनीतिक नियोगका कर्मचारी, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, व्यापारीलगायत समाजका विभिन्न तप्काका व्यक्तिहरूले सहभागिता जनाएका छन् ।

नाइमाका अनुसार, पहिलो दिन १५,०००, दोस्रो दिन १३,५००, तेस्रो दिन १९,५०० र शनिवार २१,५०० अवलोकनकर्ताहरूले प्रदर्शनी अवलोकन गरेका छन् ।स्थापनाको छोटो अवधिमै पहिलो प्रदर्शनी आयोजना गरेको नाइमाले अवलोकनकर्ताहरूको अपार माया र समर्थन पाएको छ । यो सफलताले नेपालको मोबिलिटी क्षेत्रमा ठूलो योगदान पुर्याउने नाइमाको प्रतिबद्धतालाई थप बलियो बनाएको छ ।
एक्स्पोमा ५० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी छन् । श्रावण २१ गतेदेखि सुरु भएको यो प्रदर्शनी अब श्रावण २६ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा सर्वसाधारणका लागि खुला रहनेछ ।












