
काठमाडौं । पर्साको ठोरी गाउँपालिका–४ मालीबस्तीनजिकै भारततर्फ जाने बाटोमा पाटेबाघ मृत अवस्थामा भेटिएको छ ।
पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालले आज बिहान ७ः३० बजेतिर ठोरीको मालीवस्तीस्थित हुलाकी सडकभन्दा अन्दाजी पाँचसय मिटर दक्षिणतर्फ पाटेबाघ मृत अवस्थामा भेटिएको जानकारी दिए ।
‘ठोरीका स्थानीयले पाटेबाघ मृत अवस्थामा भेटिएको सूचना दिएपछि प्रहरी चौकी विजयबस्तीबाट प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साहको कमाण्डमा टोली खटिएर छ, अहिले अनुसन्धान भइरहेको छ’, उनले भने, ‘पर्सा राष्ट्रिय निकुञ्ज आधारभार र नेपाली सबुज गणको टोली पनि आवश्यक अनुसन्धानका लागि गएको जानकारी प्राप्त भएको छ ।’
पर्सा प्रहरीका अनुसार प्रहरीचौकीबाट सो स्थान चार किलोमिटर दुरीमा पर्छ । पर्सा राष्ट्रिय निकुञ्जका रेञ्जर जयराम न्यौपानेले मृत भेटिएको पाटेबाघको मुचुल्का बनाएर शव परीक्षणका लागि निकुञ्ज ल्याइएको छ ।
‘पाटेबाघको बाहिरीभागमा सामान्य चोटपटक देखिएको छ । दुई बाघ आपसमा जुँधेर हो वा अन्य कारणले मरेको भन्नेबारे शव परीक्षणपछि नै थप जानकारी प्राप्त हुनेछ’, उनले भने ।














