Logo
Logo

विवाहमा बाजा बजाएर वार्षिक तीन लाख आम्दानी गर्दै पाल्पाका महिला


630
Shares

पाल्पा । यहाँको तानसेन नगरपालिका-१० तेल्घाकी ६० वर्षीया तारादेवी बस्याललाई बाजा बजाउन भ्याइनभ्याइ छ । गाउँघरमा हुने विवाह, पूजालगायत शुभ कार्य र मेला महोत्सवमा बस्यालको व्यस्तता बढेको हो ।

The current image has no alternative text. The file name is: palpa.gif

गाउँघरमा हुने विवाह, पूजा, कुलपूजा, व्रतबन्धलगायतका शुभ कार्यमा बाजा बजाउने मानिस नभेटिँदा उनले तीन वर्षअघि गाउँकै दिदीबहिनी मिलेर नौमती, पञ्चैबाजा बजाउन सिकेका थिए।

बाजा समूहकी अध्यक्षसमेत रहेकी बस्यालले समूह गठन गरेर व्यावसायिक रूपमा आम्दानी लिन थालेको बताइन् । बाजा बजाउन सिकेपछि मौलिक संस्कृतिको संरक्षणसँगै गाउँघरमा विवाह, पूजालगायतका धार्मिक कार्यमा सहजतासँगै महिलाहरूको आम्दानीको स्रोत बनेको उनको भनाइ छ ।

बाजा बजाएरै वार्षिक प्रतिव्यक्ति तीन लाखसम्म आम्दानी हुने गरेको बस्यालले जानकारी दिइन् । घरधन्दाले मात्र जीवन बिताउन कठिन भएपछि गाउँका महिलाहरूले बाजा बजाउन सिकेको उनले बताइन् । उनले भनिन्, ‘हामीहरूले पञ्चैबाजा बजाउन नसिक्दा गाउँमा विवाह, पूजालगायतमा बाजा बजाउने मानिस नपाइने अवस्था थियो । टाढाबाट बाजा बजाउने मानिस ल्याउँदा खर्च बढी हुन्थ्यो । पछिल्लो समय गाउँघरमा हुने शुभ कार्यमा सहज भएको छ ।’

तीन वर्षअघि देखि बाहुन समुदायका महिलाहरु मिलेर बाजा बजाउँदै आएका हुन् । समूहले एउटा कार्यक्रमको रु १५ हजारदेखि ६० हजारसम्म पारिश्रमिक लिने गरेको समूहकी उपाध्यक्ष कमला बस्यालले बताइन् । समूहमा मञ्जु पन्थी, मनकुमारी न्यौपाने, भगवती भुसाल, तारा भट्टराई, सुष्मा बस्याल, सविता अधिकारी, खुमा पँगेनी, मञ्जु कँडेल, मिरा न्यौपाने र निरला शर्मासहित १२ महिला आबद्ध छन् ।

पाल्पाका अधिकांश, कार्यक्रम, विवाह, महोत्सव, वार्षिकोत्सवदेखि मेला समारोहमा उनीहरुको माग छ । बाजा बजाउने महिलाहरूले एउटै पोसाक बनाएका छन् । उनीहरू धङ्कुरी कर्नाल, सनाई र मर्चुङ्गा, बजाउँछन् । उनीहरूले दमाहा, ढोलक, ट्याम्को र झ्याली बजाउँदा सबैलाई आकर्षित गर्ने गर्छ । उनीहरू गुल्मी र अर्घाखाँची, रुपन्देही र स्याङ्जासम्म बाजा बजाउन पुग्छन् । ‘बाजा बजाउँदा सबैले हौसला मात्रै दिनुभएको छैन, आम्दानी पनि राम्रै भएको छ,’ समूहकी उपाध्यक्ष बस्यालले भनिन् ।

त्यसैगरी, रिब्दीकोट गाउँपालिका-३ का महिलाहरूले पनि पञ्जैबाजा बजाउने तालिम लिएर विवाह, व्रतबन्धलगायत धार्मिक उत्सव र सभासमारोहमा आफ्नो सीप देखाउन थालेका छन् । आदिवासी जनजाति समूहकी संयोजक अरुणा छहारीले पञ्चैबाजाको संरक्षण, परम्पराको जगेर्नासँगै आयआर्जनमा सहयोग पुग्ने भएकाले गाउँपालिका र वडाको सहयोगमा बाजा बजाउन सिकेको बताइन् । समूहमा ४० देखि ५५ वर्षसम्मका १६ महिला आबद्ध छन् ।

‘गाउँमा बाजा बजाउने युवा नहुँदा छिमेकी गाउँबाट बोलाउनुपर्ने थियो, छिमेकी गाउँबाट बाजा बजाउने जनशक्ति नआए संस्कार नै लोप हुने अवस्था आएपछि महिलाहरूले बाजा बजाउन सिकेर आम्दानी गर्न थालेका छौँ’, उनले भनिन् ।

यहाँका महिलाले व्यावसायिक रूपमा बाजा बजाउन थालेको वडाध्यक्ष नारायणबहादुर केसीले बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालका अनुसार गत वर्ष गाउँपालिकाबाट वडामा विनियोजन गरेको रु ५० हजार बजेटले बाजा खरिद गरिएकामा यस वर्ष रु ५० हजार बजेट विनियोजन गरी बाजा बजाउन सिकाइएको हो । 

प्रतिक्रिया दिनुहोस्