जनकपुरधाम । नेपाल पत्रकार महासंघले लिजमा लिएको जग्गामा पार्किङ नदिएको विवादमा वकिलहरूको समूहले पत्रकारमाथि आक्रमण गरेका छन् ।
आक्रमणमा परी नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर रायसहित चारजना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल भर्ना गरिएको छ।

महासचिव क्रान्तिको खुट्टा भाँचिएको छ भने अध्यक्ष बन्जारा र दिवाकरको टाउकोमा चोट लागेको छ। भागदौडमा अन्य पत्रकार पनि घाइते भएका छन् ।
आक्रमणको समयमा प्रहरी घटनास्थलमै भए पनि हस्तक्षेप नगरी ‘रमिते’ बनेको पत्रकारहरूको आरोप छ।
भूतनाथ महादेवको दक्षिणतर्फ पत्रकार महासंघले गुठी संस्थानसँग ४ कठा जग्गा वार्षिक ३ लाख १ हजार १ सय रुपैयाँमा २० वर्षका लागि लिजमा लिएको थियो । महासचिव क्रान्तिका अनुसार साउन १९ गते महासंघ र गुठी संस्थानबीच सम्झौता भएको थियो ।
तर, नेपाल बार एसोसिएसन जनकपुरधामले साउन २० गते सूचना जारी गर्दै लिजमा लिइसकेको उक्त जग्गामा वकिलहरूलाई गाडी पार्किङ गर्न निर्देशन दिएको थियो।














