मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सशस्त्र बलका लागि विदेशी उत्पादनमा आधारित पोशाक तथा सम्बन्धित सामग्रीहरूको खरिदमा २०२६ देखि लागू हुने गरी प्रतिबन्ध लगाउने आधिकारिक आदेशमा हस्ताक्षर गरेका छन् ।

राष्ट्रपति द्वारा जारी आदेशअनुसार, सन् २०२६ जनवरी १ देखि रूसी सेनाका लागि आवश्यक सबै प्रकारका पोशाक तथा अन्य सामग्रीहरू केवल देशभित्रका उद्योगहरूद्वारा उत्पादन गरिनुपर्नेछ, जसको उत्पादन स्थलहरू रूसी भूभागमै रहेका हुनुपर्छ ।
साथै, सन् २०२७ भित्र प्रयोग हुने कपडा तथा बुनेका सामग्रीहरू समेत पूर्ण रूपमा स्वदेशमै उत्पादन गरिएका हुनुपर्ने व्यवस्था गरिएको छ । यस निर्णयको उद्देश्य सेनाका लागि आवश्यक सामग्रीमा विदेशी निर्भरतालाई अन्त्य गर्दै घरेलु उत्पादनमा आत्मनिर्भरता कायम गर्नु रहेको जनाइएको छ ।
सैनिक पोशाक तथा सामग्री अन्तर्गत पोशाक, चिन्हहरू (इन्सिग्निया), अन्तर्वस्त्र, ओछ्यानका सामाग्री, विशेष पोशाक, जुत्ता, उपकरण तथा सरसफाइका वस्तुहरू पर्दछन् । यस्ता सामग्रीहरू रूसी राज्यको रक्षा आपूर्ति प्रणालीमार्फत खरिद गरिन्छ ।











