Logo
Logo

बानियाँलाई मन्त्री नियुक्तिमा लामा पक्षको दबाब


9.6k
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मङ्गलवार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा छन् । तर, सत्तारुढ नेपाली काँग्रेसभित्र मन्त्री नियुक्तिको विषयमा देखिएको आन्तरिक विवादले सरकार विस्तारमा ढिलाइ भएको छ । 

काँग्रेस र सत्ता साझेदार नेकपा (एमाले) बीचको मन्त्रालय भागबण्डा अनुसार काँग्रेसले मुख्यमन्त्रीसहित सात मन्त्रालय पाएको छ । एमालेले आफ्ना छ मन्त्री नियुक्त गरिसक्दा काँग्रेसले भने दुई मन्त्रीमात्र नियुक्त गरेको छ । बाँकी पाँच मन्त्री नियुक्तिको प्रक्रिया आन्तरिक किचलोले जटिल बनेको छ । 

साउन २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँले सोही दिन काँग्रेसबाट कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री र शिवराज अधिकारीलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए । अधिकारीको मन्त्रालय अझै तोकिएको छैन । बाँकी पाँच मन्त्री नियुक्तिका लागि काँग्रेसभित्र तीव्र रस्साकस्सी चलिरहेको छ ।

बहादुरसिंह लामा पक्षले आफ्ना तीन सांसदलाई मन्त्री बनाउनुपर्ने अडान राख्दै आएको छ । लामा पक्षका १३ सांसदले यही सर्तमा बानियाँलाई विश्वासको मत दिएका थिए । काँग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा यो सहमति भएको बताइए पनि कार्यान्वयनमा जटिलता देखिएको छ ।

लामा पक्षले धादिङका गोविन्द लम्साल, चितवनकी माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री बनाउन दबाब दिइरहेको छ । तर, बानियाँनिकट सांसदहरूले यी तीनै जनालाई मन्त्री बनाउन असहमति जनाएका छन् ।

बानियाँलाई संसदीय दलको नेता बनाउन सहयोग गरेका सांसदहरू कञ्चनचन्द्र बादे (काभ्रे), प्रभात तामाङ (रसुवा), श्रीराम लामिछाने (काठमाडौँ), सुरेश श्रेष्ठ (भक्तपुर), श्यामबहादुर खड्का (काठमाडौँ), सुरजचन्द्र लामिछाने (काठमाडौँ) र विमल ठकुरी (काठमाडौँ) पनि मन्त्रीको दौडमा छन् । यस्तै, समानुपातिक सांसदहरू सुना परियार, उर्मिला नेपाल, बिनु रायमाझी र मीना पराजुली पोखरेल पनि मन्त्री बन्न शीर्ष नेताहरूसँग लबिङ गरिरहेका छन् ।

मुख्यमन्त्री बानियाँले मन्त्रिपरिषद् विस्तारको गाँठो फुकाउन बुधवार साँझ काठमाडौं पुगेर सभापति देउवा, प्रकाशमान सिंहलगायत शीर्ष नेताहरूसँग छलफल थालेका छन् । उनले शुक्रवारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने योजना बनाएका छन् । 

बानियाँले साउन ९ गते लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएर संसदीय दलको नेता बनेका थिए  । साउन १४ गते भएको निर्वाचनमा उनले २२ मत प्राप्त गरी लामालाई पराजित गरेका थिए । लामाले राजीनामा दिएपछि बानियाँ साउन २० गते बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्