काठमाडौं । भारतले आज आफ्नो ७९औँ स्वतन्त्रता दिवस हर्षोल्लासका साथ मनाएको छ । नयाँ दिल्लीको लाल किल्लाबाट तिरंगा फहराउँदै प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रलाई सम्बोधन गरे ।

उनले ‘अपरेशन सिन्दूर’ का बहादुर सैनिकहरूलाई सम्मान व्यक्त गर्दै १२औँ पटक लाल किल्लाबाट झन्डा फहराए । भारतीय सैनिकहरूले शत्रुहरूलाई कडा जवाफ दिएको उनको भनाइ थियो । मोदीले भने, ‘भारतले रगत र पानी सँगसँगै बग्न दिनेछैन ।’ उनले भारतीय नदीको पानी शत्रुका खेतमा सिँचाइका लागि प्रयोग भइरहेको उल्लेख गर्दै भारतले आफ्नो हिस्साको पानी सुनिश्चित गर्ने बताए । उनले भने, ‘सिन्धु सम्झौता एकतर्फी र अन्यायपूर्ण छ, जुन राष्ट्रिय हितमा स्वीकार्य छैन ।’
प्रधानमन्त्रीले भारतले आणविक धम्की र ब्ल्याकमेलिङ सहन नसक्ने स्पष्ट पारे । उनले भने, ‘विकसित भारत निर्माणका लागि हामी समुद्र मन्थनको दिशामा अघि बढिरहेका छौँ । हाम्रो समुद्रमा तेल र ग्यास भण्डार खोज्न मिसन मोडमा काम गर्नेछौँ ।’ उनले आत्मनिर्भर भारतको आवश्यकतामाथि जोड दिँदै ‘मेड इन इन्डिया’ जेट इन्जिन र लडाकु विमानको महत्त्वबारे प्रकाश पारे । ‘अत्यधिक परनिर्भरताले स्वतन्त्रताको अर्थ गुमाउँछ । आत्मनिर्भरता नै विकसित भारतको आधार हो,’ उनले भने ।
अन्तरिक्ष क्षेत्रको प्रगतिबारे बोल्दै उनले गगनयान मिसन र भारतको आफ्नै अन्तरिक्ष स्टेशन निर्माणको तयारी भइरहेको जानकारी दिए । साथै, उनले दीपावलीमा देशवासीलाई ठूलो उपहार प्राप्त हुने घोषणा गरे । ‘विगत आठ वर्षमा जीएसटीमा महत्त्वपूर्ण सुधार गरेका छौँ । अब अर्को पुस्ताको जीएसटी सुधार ल्याउँदै छौँ, जुन दीपावलीमा उपहार हुनेछ,’ उनले भने । उनले सामान्य नागरिकका लागि करमा उल्लेखनीय छुट ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।











