काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी, भगवान् श्रीकृष्णको जन्मदिन विश्वभरका हिन्दु धर्मावलम्बी र भक्तहरूले उत्साहपूर्वक मनाउँदै छन् । बाँसुरीको मधुर धुन, मयूरको प्वाँखले सजिएको शिर, रंगीचंगी फूलको माला र चम्किला पहिरनमा सजिएका श्रीकृष्णको सुन्दर व्यक्तित्वले सबैलाई मन्त्रमुग्ध पार्छ ।

मान्यताअनुसार, आजकै दिन मथुरामा मामा कंसको कैदमा रहेका वासुदेव र देवकीको गर्भबाट भगवान् कृष्णको जन्म भएको थियो । यो पर्वलाई गोकुलाष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती वा जन्माष्टमीका रूपमा पनि चिनिन्छ । श्रीकृष्णको व्यक्तित्व अत्यन्त प्रभावशाली र चहकिलो छ । उनको मुस्कानमा सौम्यता र सौन्दर्यको अद्भुत सङ्गम छ । माखनचोर, गोपिनीहरूका प्रिय, र चकचके स्वभावका कारण उनको कृष्णलीला बृन्दावन, मथुरा र यमुनाका किनारमा मात्र नभई विश्वभर चर्चित छ ।
गोविन्द, कान्हा, मुरलीमनोहर, श्यामसुन्दरजस्ता नामले पुकारिने श्रीकृष्णलाई विश्वका घटनाका सर्जकका रूपमा पुजिन्छ । कृष्णको जीवनबाट कर्तव्य, धर्म, मित्रता र जीवनका आदर्शहरू सिक्न सकिन्छ । उनको राधासँगको प्रेमले विवाहभन्दा माथिको निश्छल प्रेमको उदाहरण प्रस्तुत गर्छ ।
यद्यपि, इतिहासले राधा–कृष्णको विवाहको उल्लेख नगरे पनि रुकमिणीसँगको वैवाहिक सम्बन्धलाई लिपिबद्ध गरेको छ । राधा–कृष्णका मन्दिरहरू विश्वभर छन्, जसले यो प्रेमको गहनतालाई दर्शाउँछ ।
साथै, मीराबाईको कृष्णप्रतिको भक्ति र समर्पणले सुफी भावनाको अनुकरणीय उदाहरण प्रस्तुत गर्छ । उनको भजन र सङ्गीतमा कृष्णप्रेमको गहिराइ झल्किन्छ । आज मन्दिरहरूमा भक्तहरूको घुइँचो लागेको छ । भजन, कीर्तन र पूजा–आराधनाले वातावरण भक्तिमय बनेको छ। श्रीकृष्णको जीवन र शिक्षाले आज पनि सबैलाई प्रेरणा दिइरहेको छ ।














