काठमाडौं । गोरखकाली पूजा नेपाली इतिहास, संस्कृति र आध्यात्मिकताको महत्त्वपूर्ण हिस्सा हो । बाबा गोरखनाथ र गोरखकालीको महिमा नेपाल, भारत र विश्वभरका सनातन समुदायमा प्रख्यात छ ।

पृथ्वीनारायण शाह र बाबा गोरखनाथको भेट, बान्ताको प्रसङ्ग र ‘जहाँ टेक्छौ, त्यहाँ विजय’ भन्ने आशीर्वादले नेपाल एकीकरणको ऊर्जा र सामर्थ्य प्रदान गरेको मानिन्छ । मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथको नाममा स्थापित गोरखा जिल्ला र गोरखकाली मन्दिर शाहवंशको कुलदेवीको रूपमा विशेष स्थान राख्छ ।
गोरखा दरबार क्षेत्रमा अवस्थित गोरखकाली मन्दिरमा पौष कृष्ण अष्टमीमा विशेष पूजा गरिन्छ । यो मन्दिर शाहवंशको आध्यात्मिक केन्द्र मात्र नभएर सांस्कृतिक धरोहर पनि हो । यहाँबाट जमरा राखेर फूलपातीका दिन काठमाडौं ल्याउने परम्परा सयौँ वर्षदेखि चल्दै आएको थियो, यद्यपि गणतन्त्रपछि यस्ता परम्परामा कमी आएको छ ।
पशुपतिनाथको मृगस्थलीमा रहेको गोरखनाथ मन्दिर, जहाँ बाबाले १५ वर्ष ध्यान गरे, संरक्षणको अभावमा उपेक्षित छ । गुरु गोरखनाथको सन्देश आज पनि सान्दर्भिक छ । उनी भन्छन्, ‘देवल जात्रा सुनो जात्रा, तीर्थ जात्रा पानी ।’ अर्थात्, श्रद्धा, भक्ति र भावबिना मन्दिरको यात्रा अर्थहीन छ । मूर्तिको पूजा गर्ने तर मानवमा देवत्व नदेख्ने, मन्दिर धाउने तर घरलाई मन्दिर नबनाउने प्रवृत्तिमाथि गोरखनाथको खरो व्यङ्ग्य छ ।
उनको यो सन्देशले आध्यात्मिक जागरण र सच्चा भक्तिको महत्त्व दर्साउँछ । गोरखकाली र बाबा गोरखनाथको आशीर्वाद नेपाली भूमि र गौरक्षाका लागि सधैँ अपरिहार्य रहनेछ । गोरखा दरबार र मृगस्थलीको संरक्षण र संवर्द्धन आजको आवश्यकता हो, जसले हाम्रो सांस्कृतिक र आध्यात्मिक धरोहरलाई जीवन्त राख्नेछ ।














