
श्रीकृष्ण जन्माष्टमी हिन्दु संस्कृतिमा गहिरो धार्मिक, सामाजिक र दार्शनिक महत्त्व बोकेको पर्व हो । यो पर्वले भक्तिमा मात्र सीमित नरही श्रीकृष्णको जीवनबाट प्रेरक शिक्षाहरू प्रदान गर्छ । द्वापर युगमा मथुराको कंशको बन्दीगृहमा जन्मिएका कृष्णको जीवन असाधारण र प्रेरणादायी छ ।
कंशले आफ्नी बहिनी देवकीका सन्तानहरूलाई मार्ने क्रूर योजना बनाएका थिए, तर वसुदेवले यमुना नदी पार गरेर कृष्णलाई गोकुलमा यशोदा र नन्दको संरक्षणमा पु¥याए । त्यहाँ उनले ग्वालबालहरूसँग रमाइलो बाल्यकाल बिताए ।
कृष्णको बाल्यकाल रमाइलो कथाहरूले भरिएको छ । माखन चोरी, बाँसुरीको मधुर धुन, र साथीहरूसँगको रमझम । यी कथाहरूमा गहिरो दर्शन लुकेको छ । उदाहरणका लागि, गोवर्धन पर्वतलाई कान्छी औँलाले उठाएको कथा केवल चमत्कार होइन, इन्द्रको दम्भ र करप्रणालीविरुद्ध जनतालाई सङ्गठित गर्ने सन्देश हो । यसले अन्यायविरुद्ध एकताको शक्ति देखाउँछ ।
बाल्यकालमै कृष्णले साहस, नेतृत्व र सामूहिकताको महत्त्व स्थापित गरे । वयस्क भएपछि कृष्णले मथुरामा कंशको अत्याचारको अन्त्य गरे, तर उनले राजगद्दी आफ्नो हातमा लिएनन् । बरु, कंशका पिता उग्रसेनलाई पुनः राजा बनाए । यो कदमले नेतृत्व भनेको स्वार्थ होइन, जिम्मेवारी र त्याग हो भन्ने सिकाउँछ । आजको समाजमा, जहाँ नेताहरू सत्ताको लोभमा डुब्छन्, कृष्णको यो आदर्श प्रेरणादायी छ ।
महाभारत युद्धमा कृष्णको भूमिका अझ गहन छ । पाण्डव र कौरवबीचको लडाइँ धर्म र अधर्मको सङ्घर्ष थियो । युद्धभूमिमा अर्जुनलाई दिएको उपदेश-भगवद्गीता-विश्व दर्शनको अमर ग्रन्थ बन्यो । गीतामा कर्मयोग, भक्तियोग र ज्ञानयोगको सिद्धान्तले जीवनलाई सन्तुलित र अर्थपूर्ण बनाउने मार्ग देखाउँछ । ‘कर्तव्य गर, फलको आशा नगर’ भन्ने कृष्णको सन्देश आजको तनावग्रस्त र प्रतिस्पर्धी समाजका लागि मार्गदर्शक बन्न सक्छ ।
कृष्णको सामाजिक योगदान पनि उल्लेखनीय छ । ‘कृष्’ धातुबाट बनेको उनको नामले खेती र पशुपालनसँग जोडिन्छ । उनले ग्वालाको रूपमा पशुपालन र दुग्ध उत्पादनलाई सम्मान दिलाए । श्रम र उत्पादनको महत्त्व बुझाए । आधुनिक समाजमा श्रमलाई तुच्छ ठान्ने प्रवृत्तिलाई कृष्णको जीवनले चुनौती दिन्छ । उनले श्रमिक वर्गलाई गौरव प्रदान गरे, जुन आज पनि प्रासङ्गिक छ ।
कृष्णको कालो वर्णले सुन्दरताको परम्परागत परिभाषालाई तोड्यो । उनले देखाए-सौन्दर्य बाह्य रूपमा होइन, आन्तरिक गुण र कर्ममा हुन्छ । यो सन्देश आजको समाजमा जात, लिङ्ग, धर्म वा वर्णका आधारमा हुने भेदभावलाई हटाउन प्रेरित गर्छ ।
कृष्णको बहुविवाहको कथालाई गलत अर्थमा लिइन्छ, तर यथार्थमा उनले भौमासुरद्वारा अपहृत हजारौँ महिलालाई उद्धार गरी समाजमा पुनःस्थापित गरे । त्यस समयमा यस्ता महिलालाई स्वीकार नगर्ने समाजमा कृष्णले मानवताको उदाहरण प्रस्तुत गरे । यो कार्य आजको समाजमा महिला हिंसा र बेचबिखनका पीडितलाई सम्मान र पुनःस्थापनाको सन्देश दिन्छ । कृष्णको जीवन कला, सङ्गीत र प्रेमसँग पनि जोडिएको छ ।उनको मुरली, रासलीला र वनमालीको प्रतीकले जीवनलाई सौन्दर्यमय बनाउँछ ।
उनले देखाए-जीवन केवल कर्तव्य र सङ्घर्ष होइन, प्रेम, कला र आनन्द पनि हो । युद्धमा अर्जुनलाई योग सिकाउने कृष्ण शान्तिमा मुरली बजाएर गाउँलाई रमाइलो बनाउँथे । यो सन्तुलन आजको व्यस्त जीवनका लागि अनुकरणीय छ । आधुनिक समाजमा अन्याय, असमानता, भ्रष्टाचार र विभाजनका समस्याहरू छन् ।यस्तोमा कृष्णको जीवन दर्शन मार्गदर्शक बन्छ ।
कंश र इन्द्रविरुद्ध लड्ने उनको साहसले हामीलाई अन्यायविरुद्ध बोल्न प्रेरित गर्छ । गोवर्धन कथाले जनसङ्गठनको शक्ति देखाउँछ । उनको श्रमप्रतिको सम्मानले उत्पादन र मेहनतको महत्त्व बुझाउँछ । कालो वर्ण र विविधताले समावेशी समाजको सन्देश दिन्छ । गीता जीवनलाई सन्तुलित बनाउने आधार हो । श्रीकृष्ण जन्माष्टमीमा मन्दिरमा पूजा गरेर मात्र नअल्झौँ ।
कृष्णको साहस, नेतृत्व, त्याग, समावेशिता, श्रमप्रतिको सम्मान, प्रेम र मानवताका गुणलाई आत्मसात् गरौँ । यी गुणले हाम्रो जीवन र समाजलाई न्यायपूर्ण र समृद्ध बनाउन सक्छ । श्रीकृष्ण केवल भगवान् होइनन्, सत्य, न्याय र प्रेममा आधारित जीवनका गुरु हुन् । उनको दर्शनलाई व्यवहारमा उतारेर हामी आफ्नो क्षेत्रमा ‘कृष्ण’ बन्न सक्छौँ । यही नै जन्माष्टमीको सच्चा सन्देश हो ।











