काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरूले केही गर्न सक्दैनन् भन्ने नकारात्मक र अतिरञ्जित भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने प्रयास भइरहेको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्ता भाष्य र चुनौतीहरू चिर्दै पार्टी अझ सशक्त र क्रियाशील हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने भाष्यले समाजलाई भ्रमित गराउने कोसिस भइरहेको छ । यस्ता चुनौती चिर्दै हामीले एकताबद्ध भएर अगाडि बढ्नुपर्छ ।’ देउवाले कांग्रेसका सबै भ्रातृ संस्था र सङ्गठनहरूलाई गतिशील बनाउँदै पार्टीभित्र बृहत् एकता कायम गर्न निर्देशन दिए ।
सोही कार्यक्रममा महामन्त्री गगन थापाले नेपाली समाजमा असन्तुष्टिको आगोमा मट्टितेल छर्कने काम भइरहेको टिप्पणी गरे । उनले समाजमा व्याप्त रिस, आक्रोश र असन्तुष्टिलाई केही पक्षले पेट्रोल र मट्टितेल छर्केर दन्काउने प्रयास गरेको बताए । ‘हामीले ती पक्षलाई चिन्नुपर्छ, उनीहरूको भाषा र उद्देश्य बुझ्नुपर्छ,’ थापाले भने, ‘तर असन्तुष्टिको आगोमा मट्टितेल छर्कनेमाथि मात्र औँला ठड्याएर पुग्दैन । यो आगो किन बलिरहेको छ, त्यसको समाधान खोज्नु हाम्रो जिम्मेवारी हो ।’
उनले कांग्रेससँग जनताको असन्तुष्टि समाधान गर्ने तागत रहेको दाबी गरे । थापाले पार्टीभित्र शुद्धीकरण र जागरणको आवश्यकता औँल्याउँदै काम र परिणाममार्फत जनताको असन्तुष्टिको आगो निभाउनुपर्ने बताए ।














