काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उही मुद्दामा थुप्रैले उन्मुक्ति पाएको र आफूलाई मात्रै लखेटिएको गुनासो गरेका छन् । प्रचण्डका अनुसार भेटमा रविले ३ वटा गुनासो गरेका छन् ।

रविले वर्तमान सत्ता गठबन्धन आफूप्रति अनुदार भएको बताएको प्रचण्डले सुनाए । प्रचण्डले भने, ‘मेरोजस्तो केसमा थुप्रैले उन्मुक्ति पाउने । मलाई मात्रै लखेटियो भन्ने उहाँको पहिलेदेखिको भनाइ नै राख्नुभयो ।’
रविले अदालतले मागेको धरौटी राखेर बाहिरबाटै मुद्दा लड्छु भन्दा नदिएको बताएको प्रचण्डको भनाइ छ । उनले भने, ‘अदालतले नै तोकेको बिगो बैंक धरौटी राखेपछि मुद्दा लड्छु भन्दा त्यति पनि सुविधा पाइनँ । सरकार र यो गठबन्धन यति धेरै अनुदार, मप्रति विभेद किन गर्यो बुझ्न सकेको छैन ।’
प्रचण्डका अनुसार राजनीतक रुपमा कांग्रेस र एमालेले गरेको व्यवहारले आफू र पार्टीलाई देश फाइदा पुगेको निष्कर्षमा लामिछाने छन् ।
‘उहाँलाई राजनीतिक रुपमा कांग्रेस–एमालेले जसरी व्यवहार गरेको देखिएको छ । त्यसले उहाँ र उहाँको पार्टीलाई देशभरि फाइदा भएको रहेछ भन्ने उहाँले राम्रो भएको राम्रो बुझ्नु भएको रहेछ,’ प्रचण्डले भने ।
त्यस्तै, उपसभामुख इन्दिरा रानालाई दुई दललाई बारम्बार झम्टिएको रविको गुनासो छ । रविलाई उदृत गर्दै प्रचण्डले भने ‘जे भएको छ । ठूलो अन्याय भएको छ । निरंकुशतातिर गठबन्धन गएको रहेछ भन्ने बुझाइ रह्यो ।’
उनले इन्दिरामाथिमात्रै अन्याय नभएर संविधान, लोकतन्त्रमाथिको प्रहार भएको बताए । सरकारले गरेको कामले दुई पार्टीको अवस्था जनतामा खस्किएको दाबी गरे ।














