काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्यारापिट निर्माण र सिट जडानको काम अन्तिम चरणमा पुगेको छ । प्यारापिट निर्माणका लागि बिकेओआई-केसीडिसी-बिजी जेभीले २०८१ फागुन १९ गते सम्झौता गरी २० गतेदेखि निर्माण कार्य सुरु गरेको थियो ।

४३ करोड ७७ लाख रुपैयाँको ठेक्का प्राप्त गरेको उक्त निर्माण कम्पनीका प्रतिनिधि प्रेम पौडेलले अधिकांश काम सम्पन्न भइसकेको र सरसफाइ, रेलिङ जडानलगायतका सानातिना काम मात्र बाँकी छ ।
१० हजार दर्शक अट्ने यो मैदान पूर्वी र पश्चिम गरी दुई खण्डमा विभाजित छ । पूर्वी खण्डमा २,२९० र पश्चिम खण्डमा ७,७१० सिट जडान गरिएको छ । यसैगरी, फ्लडलाइट जडानका लागि विशाण–ईश्वरी जोइन्ट भेन्चरले २७ करोड ४० लाख रुपैयाँको ठेक्का लिएको छ । हाल सबै लाइट पोलहरू ल्याइसकिएको र केही दिनभित्र जडान कार्य सुरु हुने जनाइएको छ ।














