Logo
Logo

सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनमा नेपाल चेम्बर अफ कमर्सले सहयोग गर्ने


189
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनलाई पूर्ण सहयोग गर्ने भएको छ । सुदूरपश्चिममा आगामी मङ्सिर १ र २ गते हुने सम्मेलनका लागि चेम्बरले लगानी सहजीकरण, प्रचारप्रसार लगायतका विषयमा सहयोग गर्न भएको हो ।

The current image has no alternative text. The file name is: nepal-chamber.gif

काठमाडौंको जमलस्थित चेम्बर भवनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय कमल बहादुर शाह, प्रदेशका मन्त्रीहरू तथा प्रदेश योजना आयोगका सदस्य सहित आइतबार भएको छलफलमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले लगानी सम्मेलनका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।  यसका लागि प्रतिफल दिने आयोजना छनोट र नीतिगत सुधार आवश्यक रहेको अध्यक्ष अग्रवालको भनाई छ । 

उनले भने, ‘सुदूरपश्चिमको आर्थिक विकासका लागि प्रदेशमा प्राकृतिक श्रोतको अथाह सम्भावना रहेका छन् । नीतिगत सुधार भयो भने निजी क्षेत्र आफै लगानी गर्न आउँछ । प्रदेशमा लगानी प्रतिफलको सुनिश्चितता हुने गरी नीतिहरू बन्न आवश्यक छ , पानी र लगानी एउटै प्रकृतिको हुन्छ जता ओरालो रहन्छ उतै बग्ने गर्दछ। ’

सम्मेलनमा उद्योग, खानीजन्य उपज, पर्यटन, सूचना प्रविधि, ऊर्जा, कृषि, जडीबुटी, भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको छ । सुदूरपश्चिम प्रदेशमा जलविद्युत, कृषि उत्पादन, पर्यटन र सीमा-पार व्यापारमा उच्च सम्भावना रहेको छ । पञ्चेश्वर, कर्णाली र पश्चिम सेती जस्ता जलविद्युत आयोजना सफलतापूर्वक सञ्चालनमा आए राष्ट्रिय अर्थतन्त्रमा ठुलो योगदान पु¥याउने अध्यक्ष अग्रवालले बताए । 

प्रदेश कृषि–प्रधान भएकाले धान, मकै, गहु, फलफूल, मसला तथा जडीबुटीमा आधारित उद्योग, प्रशोधन र निर्यात-केन्द्रित लगानी आकर्षण गर्न सकिने चेम्बरले उल्लेख गरेको छ । 

लगानी सम्मेलनमा नीति तथा लगानी–मैत्री वातावरण निर्माण गर्न कर-राहत, जग्गा व्यवस्था, एकद्वार प्रणाली र सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडललाई प्राथमिकतामा राख्ने तयारी गर्न पनि चेम्बरले सुझाव दिएको छ । वातावरणमैत्री उद्योग, जैविक खेती र नवीकरणीय ऊर्जा परियोजनाबाट दीर्घकालीन फाइदा हुने चेम्बर अध्यक्ष अग्रवालले बताए ।  

२००७ सालमा स्थापना भएको अग्रणी संस्था नेपाल चेम्बर अफ कमर्सले व्यवसायिक तथा औद्योगिक गतिविधि विस्तारलाई सधैँ उच्च प्राथमिकतामा राख्ने अध्यक्ष अग्रवालले बताए । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले सुदूरपश्चिमको विकासका लागि चेम्बरको सहयोग महत्त्वपूर्ण रहेको र सहकार्यका लागि प्रस्ताव गरे । उनले प्रदेशमा पहिला आन्तरिक लगानीको वातावरण तय गरेर मात्रै वाह्य लगानीका लागि सरकारले पहल गर्ने बताए । प्रदेशमा लगानीको अथाह सम्भावना रहेको भन्दै मुख्यमन्त्री शाहले रोजगारी सृजना छिमेकी देशको बजारमा सुदूरपश्चिमको उत्पादनहरू पु¥याउने लक्ष्य रहेको बताए ।  

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले प्रदेशमा बाझो जमिनलाई सदुपयोग गर्ने गरी नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिए । विदेशबाट सीप सिकेर फर्किएका युवाहरूको लगत सङ्कलन गरी प्रदेश सरकारले लाभ लिन सक्नुपर्ने उनको भनाई छ ।
चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले प्रदेशमा जलविद्युत आयोजनालाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए । साथै, खप्तड राष्ट्रिय निकुञ्ज, अपि-सैपाल हिमश्रृङ्खला, बैजनाथ धाम, शुक्लाफाटा राष्ट्रिय निकुञ्ज जस्ता स्थलले इको-टुरिजम, धार्मिक र साहसिक पर्यटनमा लगानीको अवसर रहेको अध्यक्ष अग्रवालले बताए ।  

प्रतिक्रिया दिनुहोस्