Logo
Logo

अफगानिस्तानमा भूकम्प : ८१२ को मृत्यु, ३ हजार भन्दा बढी घाइते  


1.3k
Shares

काठमाडौं । अफगानिस्तानको पूर्वी प्रान्त कुनार र नान्गारहारमा गएराति ६ म्याग्निच्युडको भूकम्पले ८१२ जनाको मृत्यु भएको छ, भने ३,००० भन्दा बढी घाइते भएका छन् ।

The current image has no alternative text. The file name is: afganstan.gif

तालिबान सरकारका अनुसार ९ वटा परकम्प रेकर्ड गरिएको छ । भूकम्पले ग्रामीण क्षेत्रका माटो र ढुङ्गाले बनेका घरहरू भत्किँदा ठूलो जनधनको क्षति भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानले अन्तर्राष्ट्रिय सहायताको आह्वान गरेका छन् । ‘हामीलाई तत्काल सहयोग चाहिन्छ, धेरैले ज्यान गुमाए, घरहरू भत्किए,’ उनले रोयटर्ससँग भने । तर, विदेश मन्त्रालयका अनुसार कुनै पनि देश वा संस्थाले हालसम्म सहयोगको प्रस्ताव गरेका छैनन् ।

उद्धार कार्य जारी छ, ३० डाक्टर र ८०० किलो स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । तालिबान प्रवक्ता जबीहुल्लाह मुजाहिदका अनुसार दुर्गम हिमाली बस्तीहरूमा मोबाइल नेटवर्क अवरुद्ध हुँदा उद्धारमा कठिनाइ भएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार अफगानिस्तानको आधाभन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायता आवश्यक छ । चीनले आवश्यकताअनुसार सहयोगको प्रतिबद्धता जनाएको छ, भने राष्ट्रसङ्घीय कार्यालयले राहत कार्य शुरू गरेको छ । 

हिन्दुकुश पर्वतको टेक्टोनिक जोखिम क्षेत्रमा रहेको अफगानिस्तानले सन् २०२२ को ६.१ म्याग्निच्युडको भूकम्पपछि फेरि ठूलो सङ्कट बेहोरिरहेको छ । तालिबान नीतिका कारण अन्तर्राष्ट्रिय सहायता कटौतीले मानवीय सङ्कट थप जटिल बनेको छ ।  

प्रतिक्रिया दिनुहोस्