जुम्ला । कर्णाली राजमार्ग कालीकोटको गगनेखोलामा गएको पहिरोका कारण आइतबारदेखि पूर्णरूपमा अवरुद्ध भएको छ।

राजमार्ग बन्द हुँदा जुम्लाबाट करिब १८४ मेट्रिक टन स्याउ बोकेर गएका २३ ट्रक बाटोमै रोकिएका छन्।
अवरुद्ध ट्रकहरू पहिरो प्रभावित क्षेत्रमा अलपत्र परेका छन्। कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार ती ट्रकमा करिब १३ करोड रुपैयाँ बराबरको स्याउ रहेको छ, जुन समयमै गन्तव्यमा नपुगे सडिने जोखिममा छ।
सडक खुलाउने प्रयास तीव्र रूपमा भइरहेको भए पनि पहिरोबाट सडकमा ठूला चट्टान खसेकाले काम कठिन भएको जनाइएको छ। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधरीका अनुसार नेपाली सेनाको सहयोगमा चट्टान फुटाउने कार्य जारी छ।
राजमार्ग अबरुद्ध हुँदा यात्रुहरू समेत बिचल्लीमा परेका छन्। स्थानकी स्थानीयवासी कल्पना बुढाले भनिन्, “खाद्यान्न, पानी र स्वास्थ्य सेवा नपाएर यात्रुहरू निकै समस्यामा छन्।”
सडक खुलेर स्याउ समयमै बजार पुग्ने आशा स्थानीय किसान र व्यवसायीले व्यक्त गरिरहेका छन्, तर मौसम र भौगोलिक कठिनाइका कारण तत्काल सहज समाधान हुने सम्भावना न्यून देखिन्छ।














