काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा। गोविन्द केसीले अनसन तोडेका छन् । गेटा मेडिकल कलेजमा उपचाररत पृतम चौधरीको हातबाट जुस पिएर उनले मङ्गलवार दिउँसो २ बजे अनसन तोडेका हुन् ।

आइतबारदेखि सत्याग्रहमा बसेका डा। केसीको स्वास्थ्य बिग्रँदै गएको थियो । उनका सहयोगी डा.अमृत जैसीका अनुसार, मङ्गलवार बिहान मुटुको चालमा समस्या देखिएको थियो ।
डा। केसीले निजी मेडिकल कलेजमा एमबीबीएस सिट वृद्धिको विरोधमा सत्याग्रह सुरु गरेका थिए । चिकित्सा शिक्षा आयोगले साउन ३० मा मापदण्डविपरीत सिट वृद्धिको निर्णय गरेको उनको आरोप छ । उनले यो निर्णयले शिक्षाको गुणस्तर र स्वास्थ्य सेवामा ह्रास आउने बताए ।
डा. केसीका मागमा सिट वृद्धि फिर्ता, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज स्थापना, गेटामा तत्काल शैक्षिक कार्यक्रम सञ्चालन र विगतका सम्झौता कार्यान्वयन रहेका छन् ।














