Logo
Logo

चीनको सैन्य परेडबाट झस्किए ट्रम्प


2.5k
Shares

काठमाडौं । चीनले दोस्रो विश्वयुद्धताकाको विजयको वार्षिक उत्सवको अवसरमा राजधानी बेइजिङमा शक्ति प्रदर्शन गरेको छ । तियानमेन स्क्वायरमा आयोजित सैन्य परेडबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प झस्किएका छन् ।

दोस्रो विश्वयुद्ध अन्त्य भएको दिनको खुशीयालीमा चीनले बुधबार बिहान बेइजिङमा सैन्य परेडसहितको भव्य समारोह गरेको हो । चीनको सैन्य परेडबाट झस्किएका ट्रम्पले ‘अमेरिकाविरुद्धको षड्यन्त्र’ भनेका छन् ।

सैन्य परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन पहिलोपटक एकै मञ्चमा देखिएका थिए । सँगै इरानी राष्ट्रपति मसउद पेजेश्कियन पनि थिए ।

युक्रेनमा युद्ध अन्त्य गर्नका लागि ट्रम्पले रूसी राष्ट्रपति पुटिनलाई अगस्ट १५ मा आफ्नै भूमिमा बोलाएर छलफल गरेका थिए । तर, अहिलेसम्म युद्धविराम हुन सकेको छैन । युद्धविरामका लागि वार्ताको टेबलमा बस्नका लागि ट्रम्पले दिएको दुई साताको अल्टिमेटम सकिनै लागेको छ ।

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न रूसलाई सेना र हतियार प्रदान गर्दै आएको छ । उत्तर कोरियासँग पनि अमेरिकाको सम्बन्ध राम्रो छैन । ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेलगत्तै अमेरिका र चीनबीच व्यापार युद्ध उत्कर्षमा पुगेको थियो ।

इरानमा केही महिनाअघि इजराइलसँग मिलेर अमेरिकाले शक्तिशाली बम हमला गरेको थियो । तिक्ततापूर्ण सम्बन्ध रहेका चारै देशका नेताहरू बेइजिङमा एउटै मञ्चमा सहभागी भएपछि ट्रम्पले त्यसलाई ‘अमेरिकाविरुद्धको षड्यन्त्र’ भनेको अमेरिकी सञ्चारमाध्यम सिएनएनले उल्लेख गरेको छ ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्, ‘राष्ट्रपति सी र चीनका अद्भुत जनतालाई दीर्घकालीन खुशीको दिन शुभकामना। कृपया अमेरिकाविरुद्ध षड्यन्त्र गर्दै गरेका पुटिन र किम जोङ–उनलाई पनि मेरो तर्फबाट अभिवादन पु¥याइदिनुहोस् ।’ साथै, उनले चीनलाई स्वतन्त्र बनाउन अमेरिकाले ठूलो योगदान गरेको पनि ट्रम्पले बताएका छन् ।

ट्रम्पले भनेका छन्, ‘ठूलो प्रश्न भनेको राष्ट्रपति सीले अमेरिकाले दिएको सहयोग र त्यागलाई स्मरण गर्छन् कि गर्दैनन् भन्ने हो ।’ सांघाइ कोअपरेसन अर्गनाइजेशन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि चीन पुगेका थिए । त्यहाँ उनले रूसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सीसँग छुट्टाछुट्टै लामो छलफल गरेका थिए ।

सी, पुटिन र मोदी पनि काँधमा काँध मिलाएर हिँडेको दृश्यले अमेरिकामा तहल्का मच्चाएको थियो । पछिल्लो समय रूसी तेल किनेर भारतले युक्रेन युद्धमा रूसलाई सघाएको भनेर अमेरिकाले उसमाथि ५० प्रतिशत भन्सार दर लगाएको छ ।
यस्तै, वाशिङ्टनका विश्लेषकहरूले ती राष्ट्रहरूले अमेरिकाविरुद्ध ध्रुवीकरण गरेको बताएका छन् । राष्ट्रपति ट्रम्प भने यसबारेमा चिन्तित नरहेको भनेर सिएनएनले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्