
काठमाडौं । सरकारले किसानलाई वितरण गर्न पठाएको २ सय बोरा अनुदानको मल लुकाएको आरोपमा एक व्यवसायी पक्राउ परेका छन्।
मल लुकाएर कालोबजारी गरेको आरोपमा प्रहरीले उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एन्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरीलाई पक्राउ गरेको हो । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले पक्राउ परेका चौधरीमाथि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय उदयपुरबाट गएको अनुगमन टोलीले भदौ १२ गते चौधरीले सञ्चालन गरेको स्टोर्सबाट गत २ सय बोरा युरिया मल बरामद गरेको थियो ।
किसानलाई उपलब्ध गराउन ल्याइएको युरिया मल लुकाएर राखेको फेला परेपछि छानबिन समिति नै बनाएर अनुसन्धान गरिएको थियो । छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा प्रहरीले अनुसन्धानका लागि व्यवसायी चौधरीलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका चौधरीमाथि उदयपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।














