काठमाडौं । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलन सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विश्वका शीर्ष नेताहरूलाई एक ठाउँमा उभ्याएर अमेरिका र पश्चिमी देशहरूलाई तरङ्गित बनाएको चीनले सैन्य शक्ति प्रदर्शन गरेर झनै झस्काएको छ ।

दोस्रो विश्वयुद्धमा जापानमाथि विजय प्राप्त गरेको ८०औँ वार्षिकोत्सवको अवसरमा बुधबार चीनले बेइजिङमा भव्य सैन्य परेड आयोजना गर्यो । जहाँ २६ राष्ट्र तथा सरकार प्रमुखका साथै विश्वभरबाट निम्त्याइएका ५० हजार पाहुना सहभागी भए ।
यस ऐतिहासिक परेडमा प्रधानमन्त्री केपी शर्मा ओली, रूसी राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेता किम जोङ–उनसहितका विशिष्ट अतिथिहरू सहभागी भए । परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, पुटिन र किम जोङ–उन पहिलोपटक एउटै मञ्चमा देखिए, जसले विश्वको ध्यान खिच्यो ।
सैन्य शक्तिको प्रदर्शन
सन् १९४९ मा पहिलो सैन्य परेड आयोजना गरेको चीनले यसवर्ष भने विषेश रुपमा ग¥यो । सन् २०२५ को सैन्य परेडमा विशेष चीनले अमेरिकी विरोधी गठबन्धन अर्थात् चीन, रुस, उत्तर कोरिया, इरानबीच एकता देखाउन खोजेको छ । साथै एशिया र मध्यपूर्वका नेताहरू भेला गरेर आफ्नो बढ्दो वैश्विक प्रभावको सन्देश दिएको छ ।

चिनियाँ अधिकारीहरूले सैन्य परेडमा प्रदर्शन गरिएका हतियार र महत्वपूर्ण प्रणालीबारे बताएका छैनन् । तर, जे जति प्रदर्शन गरिएको छ ती सबै चीनमै बनेको चिनियाँ अधिकारीहरुले बताएका छन् । परेडमा चीनले एक सयभन्दा बढी अत्याधुनिक हतियार प्रणालीहरू प्रदर्शन ग¥यो, जसमा हाइपरसोनिक मिसाइल, मानवरहित पनडुब्बी ड्रोन र अत्याधुनिक फाइटर जेटहरू प्रमुख थिए ।
नयाँ चार क्षेप्यास्त्रहरू (वाईजे–१५, वाईजे–१७, वाईजे–१९ र वाईजे–२०) पहिलोपटक सार्वजनिक गरिए । जुन विमानहरुले ठूला युद्धपोतहरूलाई नष्ट गर्न सक्ने क्षमता राख्छन् । त्यस्तै, दुई सिटे जे–२०एस फाइटर जेट, जे–३५ए, एच–६जे बमवर्षक, र ‘क्यारिअर किलर’ वाईजे–१९ हाइपरसोनिक मिसाइलले पनि सबैको ध्यान तान्यो ।
चीनले ‘गुआम किलर’ डीएफ–२६डी ब्यालिस्टिक मिसाइल, सीजे–१००० हाइपरसोनिक क्रुज मिसाइल र हवाइ प्रतिरक्षा प्रणालीहरू (एचक्यू–२०, एचक्यू–२२ए, एचक्यू–९, एचक्यू–१९, एचक्यू–२९) प्रदर्शन ग¥यो । यी हतियारहरूले चीनको सैन्य आधुनिकीकरण र वैश्विक प्रभावको सन्देश दिए ।
साथै, पीएचएल–१६ रकेट लन्चर, ९९बी ब्याटल ट्याङ्क, र विभिन्न हवाइ तथा समुद्री ड्रोनहरू (जस्तै जीजे–११, एफएज–९७, एजेएक्स ००२) पनि प्रदर्शनमा थिए ।
यो परेडमार्फत चीनले आफ्नो सैन्य शक्ति र प्रविधिमा भएको प्रगति देखाएको हो । परेडलाई सम्बोधन गर्दै सीले संसारले यतिबेला पुनः युद्ध र शान्तिको प्रश्नको सामना गरिरहेको बताए । आफ्नो छोटो भाषण उनले चीनको उदयलाई कसैले रोक्न नसक्ने र मानवताका शान्तिपूर्ण विकासले निश्चय नै विजय हासिल गर्ने घोषणा गर्दै टुंग्याएका थिए ।
ट्रम्पको आपत्ति
चीनले दोस्रो विश्वयुद्धको विजयको वार्षिकोत्सवको अवसरमा राजधानी बेइजिङमा शक्ति प्रदर्शन गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपत्ति जनाएका छन् । उनले चिनियाँ राष्ट्रपति सी चिनफिङले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनसँग मिलेर अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप समेत लगाएका छन् ।

चीनले विश्वका नेताहरूलाई साथमा लिएर शक्ति प्रदर्शन गरिरहँदा ट्रम्पले ‘ट्रुथ सोसल’मार्फत टिप्पणी गर्दै अमेरिकाविरुद्धको षडयन्त्र भनेका हुन् । उनले लेखेका छन्– ‘भ्लादिमिर पुटिन र किम जोङ–उनलाई मेरो हार्दिक अभिवादन पु¥याइदिनुहोस्, तपाईंहरू अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहनु भएको छ ।’
ट्रम्पको टिप्पणीमा रूसले दियो जबाफ
अमेरिकी राष्ट्रपति ट्रम्पले बेइजिङ समारोहबारे गरेको टिप्पणीमा रूसले जबाफ दिएको छ। बेइजिङमा दोस्रो विश्वयुद्ध अन्त्य भएको ८० वर्ष पुगेको खुसीयालीमा आयोजित विशेष समारोहलाई ट्रम्पले रूसी राष्ट्रपति पुटिन र उत्तर कोरियाका नेता किम जोङ मिलेर अमेरिकाविरूद्ध षड्यन्त्र गरेको भनेका थिए।
त्यसमा पुटिनका विदेश सल्लाहकार युरी उशाकोभले जबाफ दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। ‘बेइजिङमा अमेरिकाविरूद्ध कुनै षड्यन्त्र भइरहेको छैन। कसैले केही योजना बनाइरहेको छैन,’ उशाकोभको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ।
उनले ट्रम्पले उक्त भनाइ गम्भीरतापूर्वक नभनेको हुनसक्ने पनि बताएका छन्। ‘शायद मजाक गर्नुभएको होला। त्यो उहाँको आलोचनाको शैली हुन सक्छ, उशाकोभले भनेका छन्।
चीनले दिएको सन्देश
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका फस्र्ट’को नारा दिइरहँदा सीले वैश्विक शासनको अवधारणा अघि सारिहेका छन् । अमेरिकाले एशिया र मध्य पूर्वका मुलुकमाथि यो वा त्यो नाममा कर थोपरिरहेका बेला तियानजिनमा भारतीय प्रधानमन्त्री मोदी, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन समेत सीसँगै उभिनु आफैंमा पश्चिमाविरुद्धको प्रतिरोध देखिन्छ ।
विश्वका शक्तिशाली मानिने चिनियाँ राष्ट्रपति सी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तरकोरियाली नेता किम जोङ उन अघिल्लो पंक्तिमा सँगै हिँडेर सैन्य परेड समारोहस्थल पुगेका थिए । यसरी उनीहरुले अमेरिकासहित आफ्ना विरोधी राष्ट्रविरुद्ध आफूहरु एकजुट भएको सन्देश दिन खोजेको विश्लेषकहरू बताउँछन् ।
चिनियाँ राष्ट्रपति सी आधुनिक चीनको शक्ति प्रदर्शन गर्न र वैश्विक नेतृत्वको लागि तयार भएको सन्देश दिन खोजिरहेका छन् । एससीओको सम्मेलनले भेला भएका २६ राष्ट्र प्रमुखलाई सैन्य परेडमा सँगै उभ्याएर सीले चीन अब विश्वकै नेतृत्व गर्न सक्षम भएको सन्देश दिन खोजेका छन् । अर्थात् सैन्य शक्ति वा राजनीतिक शक्ति दुवैमा चीन सक्षम रहेको सन्देश दिएका छन् ।











