काठमाडौं । लगातार दुई दिनको भारी वर्षाका कारण भारतको पञ्जाबमा आएको बाढीले १,४०० भन्दा बढी गाउँ प्रभावित भएका छन् भने ४.५ लाखभन्दा बढी मानिसहरू सङ्कटमा परेका छन् । बाढीका कारण ३७ जनाको मृत्यु भएको छ र ३.५ लाख एकड खेतीयोग्य जमिन डुबानमा परेको छ ।

राज्य सरकारले राहतका लागि ७१ करोड रुपैयाँको कोष घोषणा गरेको छ । मौसम विभागले आगामी दुई दिनसम्म भारी वर्षा हुने चेतावनी दिएको छ, जसले पञ्जाब र हिमाचल प्रदेशमा बाढीको स्थिति थप बिग्रन सक्ने अनुमान गरिएको छ ।
पठानकोटस्थित रणजीत सागर बाँधमा पानीको बहाव नियन्त्रण गर्न सबै सात ढोका खोल्नुपर्ने अवस्था आएको छ, जुन बाँध निर्माणयता पहिलो पटक भएको कामदारहरूले बताएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधवार बाँधको पानीको सतह ५२६.९७ मिटर पुगेको थियो, जुन खतराको तहभन्दा एक मिटर कम हो । पञ्जाबका २३ वटै जिल्लाका १,४०० भन्दा बढी गाउँ प्रभावित भएपछि राज्य सरकारले सम्पूर्ण राज्यलाई प्रकोपग्रस्त क्षेत्र घोषणा गरेको छ ।
बाढीले बिगारेको सेवा पुनर्स्थापना गर्न सबै विभागलाई युद्धस्तरमा काम गर्न निर्देशन दिइएको छ । मुख्य सचिव केएपी सिन्हाले सबै जिल्ला मजिस्ट्रेट र विभागहरूलाई राहत कार्य तीव्र बनाउन आदेश दिएका छन्, साथै कर्मचारीहरूको बिदा रद्द गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सन् १९८८ र १९९३ पछि सन् २०२५ मा पञ्जाबमा यस्तो गम्भीर बाढीको अवस्था आएको हो । रणजीत सागर बाँधका कामदारहरूले यस्तो बाढी पहिलो पटक देखेको बताएका छन् ।











