काठमाडौं । नेकपा माओवादी केन्द्रको पटक-पटक स्थगित पदाधिकारी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकमा समसामयिक राजनीति र स्थायी समितिका निर्णयहरूको कार्यान्वयनलगायत विषयमा छलफल भइरहेको छ ।

यसअघि स्थायी समितिको निर्णय कार्यान्वयनका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ ३ गते बैठक बोलाएका थिए । तर, नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्न हस्ताक्षर अभियान सुरु गरेपछि उक्त बैठक छोटो समय बसेर स्थगित भएको थियो ।
त्यसपछि भदौ ६ र ८ गतेका लागि तय भएको बैठक पनि प्रचण्डले कार्यव्यस्तताका कारण स्थगित गरेका थिए । गत साउन १९ गते सम्पन्न स्थायी समिति बैठकले पार्टीभित्रका गुट, उपगुट र स्वार्थ समूह विघटन गर्ने निर्णय गरेको थियो ।














