काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी केन्द्रीय कार्यालयमा फरक मत दर्ता गराएका छन् । शुक्रबारदेखि सुरु हुने दोस्रो विधान महाधिवेशनअघि बिहीबार उनले यो मत दर्ता गराएका हुन् ।

थापाले पार्टीभित्र छलफलका लागि यो फरक मत प्रस्तुत गरेको बताएका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको ‘पार्टी जीवनको लोकतान्त्रीकरण’ दस्तावेजमा उल्लेखित कार्यकारी पदमा दुई कार्यकाल र ७० वर्षे उमेर हद कायम राख्नुपर्ने अडान दोहोर्याएका छन् ।
उनले आजीवन पदमा रहने प्रवृत्ति र विधिविपरीत निर्णय गर्ने नेतृत्वको शैलीको कडा आलोचना गरेका छन् । गत साउनमा बसेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको नीति र दस्तावेजविपरीत अघि बढ्ने प्रयास गरेको थापाको आरोप छ । उनको यो फरक मतलाई एमालेले विधान महाधिवेशनमा छलफलका लागि लाने भएको छ ।














