Logo
Logo

उखु किसानलाई अनुदान रकम भुक्तानी सुरु


189
Shares

काठमाडौँ — सरकारले उखु किसानलाई दिने उत्पादन प्रोत्साहन अनुदानअन्तर्गत करिब ७५ करोड रुपैयाँ निकासा गरेको छ।

देशभरका १३ जिल्लाका किसानले चिनी उद्योगमा दिएको करिब दुई करोड १६ लाख क्विन्टल उखुको आधारमा यो रकम वितरण गरिएको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार चिनी उद्योगले किसानलाई प्रतिक्विन्टल ५८५ रुपैयाँ तिर्ने र सरकारले थप ३० रुपैयाँ अनुदान दिने व्यवस्था छ। निकास गरिएको रकम सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत किसानको बैंक खातामा पठाइनेछ। केही किसानले रकम प्राप्त गरिसकेको जानकारी पनि जोशीले दिए।

गत वर्ष किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान दिइएको थियो। तर, बजेट अभावका कारण यसपटक अनुदान दर घटाएर ३५ रुपैयाँ बनाइएको छ। मन्त्रिपरिषद्को निर्णयपछि प्राविधिक कारणले केही ढिलाइ भए पनि अब रकम वितरण सुरु भएको मन्त्रालयले जनाएको छ।

सुनसरी, सिराहा, सर्लाही, महोत्तरी, रौतहट, बारा, नवलपरासी लगायतका जिल्लामा व्यवसायिक उखुखेती हुँदै आएको छ। सरकारले किसानलाई प्रोत्साहन दिई उखु उत्पादन वृद्धि गर्ने उद्देश्यले अनुदानको व्यवस्था गरेको हो।

प्रतिक्रिया दिनुहोस्