काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग चाँडै एकता हुने बताएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा दुवै दलसँग एकता प्रक्रिया अघि बढाइएको बताए।

प्रचण्डको भनाइ उदृत गर्दै एक नेताले भने, ‘नेकपासँग एकता गर्ने भनेर हामीले निर्णय गरिसकेका छौँ त्यही अनुसार छलफल चलिरहेको छ, नेकपासँग लगत्तै माधव नेपालीजीको पार्टीसँग पनि एकता गर्छौँ।’
माओवादीले हालै बसेको स्थायी कमिटीको बैठकबाट नेकपासँग एकता गर्ने निर्णय गरेको थियो। त्यो निर्णय प्रचण्ड आफैँले विप्लव निवासमै पुगेर जानकारी गराइसकेका छन्।
नेकपामा जारी बैठकले माओवादीको निर्णयलाई स्वागत गर्दै केन्द्रीय समिति बैठकबाट एकताबारे निर्णय लिँदै छ। यता, नेकपा एसका अध्यक्ष माधव नेपालसँग पनि प्रचण्ड निरन्तर संवादमा छन्।
माधव नेपाल माओवादीसँग एकता गर्न तयार भएपनि सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित उनीहरूनिकट नेताहरू एकताको विपक्षमा छन्।
गुट–उपगुट र स्वार्थ समूह नरोकिए कारबाही
माओवादी केन्द्रले पार्टीभित्र स्वार्थसमूह नरोकिए अुनशासनको कारबाही गर्ने निर्णय गरेको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीभित्र देखिएको स्वार्थ समूह रोक्ने र नरोकिए अनुशासनको कारबाही गर्ने निर्णय भएको बताए ।
प्रवक्ता सापकोटाले भने, ‘स्थायी कमिटीको बैठकले गरेका निर्णयहरुको सन्दर्भमा आज छलफल मात्रै भयो। अनुगमन समितिहरू बनाउने तथा स्थायी समितिले गरेका निर्णयहरु गुट उपगुट तथा स्वार्थ समूह भंग गर्ने निर्णय भएको छ। त्यस्तो नरोकिए अनुशासनको दायरामा ल्याउने भन्ने विषयमा छलफल भयो।’
उनकाअनुसार बैठकले पार्टीको मध्यपहाडि लोकमार्ग अभियानको विषयमा पनि छलफल गरेको छ।














