
काठमाडौं । सिन्धुलीमा ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । आज बिहान कमलामाई नगरपालिका– ९ बथानचौडी नजिकै ट्रकले ठक्कर दिँदा सोही ठाउँमा ४६ वर्षीय भुवन भुजेलको मृत्यु भएको हो ।
दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् । ट्रकको ठक्करबाट सोही ठाउँका ६४ वर्षीय टेकप्रसाद दाहाल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उनको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचार भइरहेको छ ।
अनियन्त्रित भएको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएपछि सडक किनारामा पल्टिएको प्रहरीले जनाएको छ । ट्रक पल्टिँदा एउटा घरमा क्षति भएको छ भने २० वटा जति कुखुरा पनि मरेको प्रहरीले जनाएको छ । ट्रक चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।














