Logo
Logo

माओवादी आन्दोलनको क्षयसँगै प्रचण्डको पतन


शरद् रिजाल

1.4k
Shares

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आफ्नो विगतको जस्तो रापताप नभएको भन्दै निरीहता प्रकट गरेका थिए । उनले शान्ति प्रक्रियामा आउँदा संगठन कमजोर भएपनि त्यतिबेला बेग्लै शान रहेको तर अहिले भने सबै हराउँदै गएको स्वीकार गर्दै फेरि आन्दोलनमा जानुपर्ने बताए ।

प्रचण्डले पार्टी निकट दलित मुक्ति मोर्चाद्वारा आयोजित कार्यक्रममा भनेका थिए,‘ हिजो जनयुद्ध गरेर शान्ति प्रक्रियामा आउँदा संगठन ठूलो नभए पनि ताप, राप, वाइसिएल र सेना थियो । म चुनावमा भोट हाल्न जाँदा जनमुक्ति सेनाका दुई वटा गाडी अघिपछि राखेर जाने त्यो बेलाको प्रचण्ड भनेपछि मान्छेले कस्तो बुझ्थे भन्नुस् त । अहिले त… छैन(मुख बिगार्दै)।’

प्रचण्डको यस अभिव्यक्तिले उनी आफैँले माओवादी र आफू दुवै कमजोर भएको स्वीकार गरिसकेका छन् । विगतको प्रचण्डीय रापताप नरहेको र अहिले विस्तारै सबै धुमिल बन्दै गएर कमजोर पात्रमा सीमित हुनुपरेको यो उनको स्वीकारोक्ति थियो । यसलाई उनको गुनासो र दुखेसोको रूपमा पनि लिन सकिन्छ । तर, यसको उपज भने उनी आफैँ हुन् । माओवादीबाट विभाजित भएर गएकाहरूको भागमा पनि त्यसको केही हिस्सा परेपनि मूल नेतृत्वमा उनी आफैँ रहेकाले यसको प्रमुख भागीदार प्रचण्ड स्वयं हुन् ।

विगतमा प्रचण्ड कुनै व्यक्ति नभएर उनी माओवादी आन्दोलनका नेतृत्वकर्ता थिए । मूल नेतृत्व भएकाले पार्टी बलियो हुँदा उनको रापताप स्वतः हुने नै भयो । तर, समयक्रममा पार्टी विभाजन र विगतका प्रतिबद्धताबाट टाढिँदै जाँदा माओवादी आन्दोलन र प्रचण्ड दुवै कमजोर बन्दै गएको सत्य हो । उनले यो कुरा अहिले आएर बल्ल महसुस गर्न थालेका छन् ।

प्रचण्डले त्यस कार्यक्रममा विगतको आफ्नो शान फर्काउन फेरि आन्दोलन गर्नुपर्ने आवश्यकता औँल्याए । दशैं, तिहार लगायतका चाडपर्व पछि फेरि सडक तताउने उद्घोष गरे । तर, माओवादी आन्दोलनको पुनर्गठन गरी पुनः बलियो बनाउने आवश्यकता बोध गरेनन् । माओवादी आन्दोलनको उपज उनी पुष्पकमलबाट प्रचण्ड बनेका हुन् । तर, त्यही आन्दोलन पुनर्गठित गरी बलियो बनाएर आफ्नो व्यक्तित्व पूर्ववत अवस्थामा फर्काउनेतर्फ उनेको कहिल्यै ध्यान गएन ।

माओवादी आन्दोलन कमजोर बन्दै जाँदा नेतृत्वमा रहेका उनी स्वाभाविक रूपमा कमजोर बन्दै गएको सत्यलाई उनले अझै स्वीकार गर्न सकेका छैनन् । र, त्यसमा उनको आफ्नै प्रमुख भूमिका रहेको छ । क्षमता, आवश्यकता र संयोगले उनी माओवादी आन्दोलनको नेतृत्व लिने अवसर पाए । त्यसमा पार्टीका अन्य सबै नेता कार्यकर्ताहरूको पनि महत्त्वपूर्ण भूमिका छ ।

तर, उनको आफ्नै निषेधकारी प्रवृत्ति र दम्भकै उपज वर्तमान दुर्दशा निम्तिएकोमा उनी पक्कै जानकार छन् । तथापि, सार्वजनिक रूपमा भने उनले आफ्नो कारणले माओवादी आन्दोलनको शान हराएको भने अझै स्वीकारेका छैनन् । बरु आफूलाई केन्द्रमा राखेर प्रचण्डको मात्रै शान हराएको बताइरहेका छन् ।

यहाँ प्रचण्ड भनेको कुनै अमुक व्यक्ति मात्रै होइन, माओवादी आन्दोलनको मूल नेतृत्व हो । उनको शान व्यक्तिगत कारणले बनेर हराएको होइन । समग्र माओवादी आन्दोलनकै ओज क्रमशः क्षयीकरण हुँदै गएपछि मात्रै प्रचण्डको शान हराएको हो । यसतर्फ अझै ध्यान नदिएर आफू आफ्नै कारणले प्रचण्ड बनेको भान हुनेगरी अभिव्यक्ति दिएर उनले आफूलाई नै प्रधान ठानेका छन् ।

हरेक राजनीतिक आन्दोलनलाई गति दिने काम त्यसको नेतृत्वले गर्दछ । विगतमा माओवादी आन्दोलनलाई एउटा उचाइमा पु¥याउन पनि प्रचण्डको नेतृत्वकलामा महत्त्वपूर्ण भूमिका खेलेको सत्य हो । अहिले उनकै पालामा अस्तित्व रक्षाको गम्भीर संकटले थलिएको कटु यथार्थता पनि छर्लङ्ग छ ।

त्यसैले राजनीतिक आन्दोलन र नेतृत्वको भनेको एक अर्काको परिपूरक हो । नेतृत्व सामूहिकताबाट निर्माण हुन्छ । विविध क्षमता भएका नेता कार्यकर्ताको सहकार्य र संयोजनबाट नेतृत्व निर्माण हुने हो । माओवादी आन्दोलनले प्रचण्डको नेतृत्व निर्माण ग¥यो तर त्यही आन्दोलनले आफ्ना एजेण्डा छाडेर कमजोर बन्दै गएपछि नेतृत्व पनि कमजोर बन्न पुगेको सत्यलाई स्वीकार गर्नुपर्छ । यहाँ व्यक्ति कमजोर बनेको विषय प्रमुख होइन, यी सबै माओवादी आन्दोलन कमजोर बन्दै जाँदा निम्तिएको समस्या हो ।

यसको सामान्य हेक्का नराखी अझै उनले आफूलाई सर्वेसर्वा बनाएर आन्दोलन सहायक र नेतृत्व प्रधान भएको जसरी प्रचार गर्न थालेका छन् । उनले आफ्नै व्यक्तिगत कारणले प्रचण्ड बनेको र अहिले ओज हराउँदै गएको जसरी उनी प्रस्तुत हुनु भनेको त्यो समग्र माओवादी आन्दोलनमा योगदान दिएका कार्यकर्तामाथिको उपहास हो ।

माओवादी आन्दोलनले आफ्नो नेतृत्वदायी व्यक्तित्व निर्माण गरेको र आन्दोलन कमजोर बनेपछि आफ्नो व्यक्तित्व पनि ह्रास हुँदै गएको कुरा उनले गम्भीरताका साथ स्वीकार गर्नुपर्छ । तब मात्रै त्यो माओवादी आन्दोलनका लागि हितकारी आत्मस्वीकारोक्ति हुन जान्छ । अन्यथा, आफ्नै कारणले निर्माण गरेको व्यक्तित्व भए जसरी कुण्ठा प्रकट गर्नु भनेको समग्र आन्दोलन भन्दा आफूलाई माथि राख्ने व्यक्तिवादी चिन्तन हो । त्यो माओवादी आन्दोलनमा सहभागी नेता कार्यकर्ताका लागि स्वीकार्य छैन ।

जनयुद्धकालीन प्रतिबद्धताबाट विमुख भएर वर्गोत्थान भएपछि नै उनको व्यक्तित्व कमजोर बन्दै गएका हो । उनमा आएको वैचारिक स्खलनले अहिले निरीहता प्रकट गर्दै अतीतमुखी बन्नुपर्ने बाध्यात्मक अवस्था निम्तिएको छ ।

अर्कोतिर पार्टीभित्र दुई वैचारिक सशक्त नेताहरू बाबुराम भट्टराई र मोहन वैद्य पनि थिए । उनीहरूलाई समुचित स्थान नदिएर बाहिरिन बाध्य पारेपछि झनै प्रचण्डीय रापताप हराएर ‘धाँगो चुडिएको चंगा’ जसरी अर्तनाद गर्नुपर्ने अवस्था आएको छ ।

विगतमा श्रमजीवी वर्गको मुद्दा बोकेर जनयुद्ध उठान गरेका प्रचण्ड शान्ति प्रकियामा प्रवेशयता अभिजात वर्गमा रूपान्तरित भए । यसले परम्परागत अभिजात वर्गले उनलाई विश्वास गरेन भने जसको बलमा माओवादी आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरे त्यो वर्गलाई चटक्कै बिर्सिए । त्यसपछि नै उनी कसैको बन्न सकेनन् । अहिले त्यसकै उपज प्रचण्ड‘पानी बिनाको माछा’ जसरी तड्पिएर अतीतमुखी अभिव्यक्ति दिँदै हिँड्ने अवस्था आएको छ ।

त्यस कारण आफ्नो शान विगतको जस्तो नभएको भन्दै दुखेसो पोख्नु भन्दा माओवादी आन्दोलन पुनर्गठन गर्दै त्यसलाई बलियो बनाएर सबैको साख फर्काए मात्रै पार्टी, आन्दोलन र प्रचण्डका लागि पनि हितकर हुन्छ ।

प्रतिक्रिया दिनुहोस्