जुम्ला । जुम्लाका आठ स्थानीय तहका स्याउ किसानलाई अहिले बगैँचामा स्याउ टिप्न भ्याइनभ्याइ छ।

पाकेको स्याउ व्यापारीले घरमै पुगेर खरिद गर्न थालेका छन्। अहिले प्रतिकिलो स्याउ रु ६५ मा बिक्री हुँदैछ। किसान प्रेमराज पाण्डेका अनुसार उत्पादन गत वर्षको तुलनामा ४०% कम भएको छ।
कृषि विकास कार्यालयका अनुसार जुम्लाको ४,१२० हेक्टर क्षेत्रफलमा स्याउखेती हुँदै आएको छ र यसवर्ष करिब १६ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ, जसबाट झन्डै रु ४५ करोड आम्दानी हुने अपेक्षा छ।
यससँगै, जुम्लाकोट गाउँकी महिलाहरू तरकारीखेतीमार्फत स्वरोजगार बन्न थालेका छन्। विभिन्न तालिम र सहयोग पाएपछि उनीहरूले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेर लाखौँ आम्दानी लिइरहेका छन्।
गोलभेँडा प्रतिकिलो रु ४० मा बिक्री भइरहेको छ भने यातायात सुविधा कमजोर हुँदा बजारमा ढुवानीमा समस्या भइरहेको स्थानीयले बताएका छन्। जलवायु मैत्री कृषि प्रविधिको प्रयोग र सहकारीमार्फत प्रवर्द्धनले महिलाको जीवनशैलीमा सुधार आएको छ।














