Logo
Logo

सुदन गुरुङ : धराने भान्जादेखि देशको चेहरासम्म


आनन्द श्रेष्ठ

26.2k
Shares

नेपालको इतिहासमा पहिलोपटक २७ घण्टे जेनजी आन्दोलनले राजनीतिक वृत्तमा ल्याएको अग्रगामी परिवर्तनले अहिले नेपाल विश्वभर नै चर्चामा छ । यो आन्दोलनमा देश मात्र चर्चित भएन चार गुरुङहरू पनि चर्चामा आए । यो, एउटा अनौठो संयोग नै मान्नुपर्छ । ती चारमध्ये एक थिए, पृथ्वीसुव्वा गुरुङ । जसले आफू सूचना तथा सञ्चारमन्त्री भएको नाताले सामाजिक सञ्जाललाई नियमन गर्ने वहानामा बन्द गराए । जुन कुराको देशव्यापी विरोध भएको थियो । यही विषयलाई लिएर आन्दोलनको उठान भएको थियो ।

दोस्रो, सर्वाधिक चर्चित पात्र हुन सुदन गुरुङ । जो पछिल्लो समय जेनजीको लिडरको रूपमा उदाए । यस भन्दाअघि उनले ‘हामी नेपाल’ संस्थामार्फत समाजसेवा गर्दै आएका थिए ।

सामाजिक सञ्जालबाट सुरु भएको जेनजी आन्दोलन गत भदौ २३ गते सडकमा उत्रियो । युवाहरू काठमाडौँको माइतीघर मण्डलामा भेला भए । त्यस दिन गुरुङको टिम औषधीसहित खटिएको थियो । त्यस दिन उनले आफूलाई भोलेन्टरको रूपमा परिचित गराएका थिए । जसमा सुदन गुरुङ अग्रपंतिमा थिए । अहिले नै गुरुङ आन्दोलनको अगुवाको रूपमा चिनिएका छन् ।

तेस्रो गुरुङ हुन्, भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ । जो, जेनजी आन्दोलनबाट आर्थिक रूपमा सबैभन्दा पीडित भए । उनको देशभर ११ वटा भाटभटेनी जलेर खरानी भयो । सात वटामा तोडफोड भयो ।

आन्दोलनबाट चर्चा कमाएका चौथो गुरुङ हुन, राजीव गुरुङ उर्फ दीपक मनाङे । आन्दोलनको क्रममा देशका जेलबाट १८ हजार कैदी भागे । तर, जेलबाट भागभन्दा पनि उनी भागेनन् । जसको चर्चा व्यापक भयो ।

यी चारमध्ये तीन गुरुङ यसअघि नै परिचित हुन् । तर, सुदन गुरूङलाई कमैले चिन्थे । तर, जेनजी आन्दोलनले अरू गुरुङभन्दा बढी चर्चामा ल्यायो । उनले प्रस्ताव गरेकै व्यक्ति सुशीला कार्की अन्तरिम सरकारको प्रमुख बनिन् ।

कार्कीले प्रधानमन्त्रीको शपथ लिएपछि सुदनले उनकै खुट्टै ढोगे । त्यसपछि उनको चर्चा झनै चुलियो । उनबारे समाचारहरू व्यापक बन्न थाले । सुदन को हुन् ? कहाँबाट आए ? भन्ने सबैमा चासो भयो । उनैलाई धेरैले जेनजीको असली नेता मान्न थाले ।

यद्यपि, उनी विवादमा पनि मुछिएँ । केहीले उनले जेनजी आन्दोलन ‘हाईज्याक’ गरेको आरोप पनि लगाए । उनले रिपोटर्स क्लबमा गरेको पत्रकार सम्मेलनमा तनाव उत्पन्न भएपछि विवादित बन्न पुग्यो । उनले आफ्नै समर्थनमा बनेको प्रधानमन्त्री कार्की राजीनामा माग गर्दै मध्यरातमा बालुवाटारमा प्रदर्शन समेत गरे, त्यो पनि प्रधानमन्त्री बनेको दुई दिनमै । त्यसपछि उनी झनै विवादमा तानिए ।

त्यसपछि उनलाई कतिले भारतीय भने त कतिले पश्चिमाको एजेन्ड भने । जसले सामाजिक सञ्जामा व्यापक चर्चा पायो । विषेशगरी धरानका मेयर हर्क साम्पाङका समर्थकहरू सुदनविरद्ध खनिए । किनकि ‘मलाई प्रधानमन्त्री बनाऊ’ भन्दै गंगीअड्डा पुगेका हर्कलाई सुदनले अस्वीकार गरेका थिए ।

त्यसपछि हर्कका समर्थक उनलाई बदनाम गराउन लागिपरे । उनीहरूले सुदनलाई विभिन्न लाञ्छना लगाए । गाली गरे । एउटा देशद्रोहीको रूपमा चित्रण गरे ।

तर, मैले सुदनलाई चिनेको धेरै वर्ष भयो । उनी, गोरखा चुमनुग्री गाउपालिका ३ वस्ने दिलबहादुर गुरुङका माइली धर्मपत्नी ज्ञानु लामाका छोरा हुन् । तर, उनको जन्म भने थापाथली प्रसुतीगृहमा भएको थियो । सुदनको एक बहिनी छन् सोनिया गुरुङ । जो, चर्चित फेशन डिजाइनर तथा मोडल हुन ।

सुदनले १० कक्षासम्म चितवनको भरतपुर २६ स्थित कालिका संस्कारकुल वोडिङ स्कुलमा पढे । जहाँ उनको बुबाको दोस्रो घर भरतपुर १८ गुन्जनगरमा पनि रहेको छ । त्यही भएर उनले चितवनमा पढे ।

उच्च शिक्षा भने सुदनले काठमाडौं अनामनगरस्थित मल्टी नेशनल कलेजमा पढे । अध्यात्म र सङ्गीत भने पछि हुरुक्क हुने सुदनले साथीभाइसँग ठमेलको म्युजिक वारहरूमा पुग्न थाले । त्यही बेला उनले डिजे सिकेर काम गर्न थाले । डिजेसँगै उनले होटल पनि चलाउन थाले ।

ठमेल र बौद्धमा नाम र दाम दुवै कमाएका सुदन २०७२ को भूकम्पपछि भने समाजसेवा मा लाग्न थाले । उनी साथीभाइसँग मिलेर उद्धारमा खटिए । त्यसै वर्ष उनले ‘हामी नेपाल’ नामक संस्थाको स्थापन गरे । जुन संस्थामा हाल १५ सय युवाहरू जोडिएका छन् । उनी कोरोना महामारीमा पनि बिरामीको सेवामा खटिए । एकपछि अर्को विपत्तिहरूमा सुदनको समूहले सहयोग गर्न थाले । र, समाजसेवीको छवि बनाए ।

एकदिन धरान गएको वेला वीपी प्रतिष्ठान अस्पतालको एमर्जेन्सी वार्डमा विरामीहरु चिसो भुइँमा छटपटाईरहेको देखे । त्यसपछि वीपीको सुधारको लागि उनले ७ महिना आन्दोलन गरे । त्यसबेला धरानका मेयर हर्कको आलोचना गरेका थिए । जुन भिडियो क्लिपहरुल अहिले पनि सामाजिक सञ्जालमा पाइन्छ । यसैगरी टर्कीमा गएको विनाशकारी भूकम्पको वेला पनि उद्धारमा खटिएका थिए । टर्कीमा उनले दुई महिना सेवा गरे ।

अरूको पीडा देख्न नसक्ने सुदनको मन अत्यन्तै कोमल छ । तर, अन्याय र अत्याचारको विरुद्ध बोल्न र लड्न सधैँ तयार रहने विद्रोही स्वभावले उनलाई कहिल्यै पछि हट्न दिएन । यही कारण, उनी पढेको कालिका संस्कारकुल बोर्डिङ स्कुल, चितवनका प्रिन्सिपल भन्छन्– “सुदन बोल्न कहिल्यै पछि पर्दैन ।”

जेनजी आन्दोलनबाट चर्चामा आएपछि सुदनका पुराना दिनहरू सम्झँदै ती प्रिन्सिपलले सुनाएका कुराहरू अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । कृषिमा समृद्ध चितवनमा, किसानहरू हलो जोतेर गोरूलाई तड्पाइरहेका एक ठाउँमा पुगेका सुदनले गोरूलाई अंगालो हाली भनेका थिए– ‘मान्छेहरूले तिमीलाई धेरै दुःख दिए नि… यस्तो घाममा पनि जबरजस्ती जोतिराखेका छन् । तिमीले आज के खायौ ? अहिले तिम्रो स्वास्थ्य कस्तो छ ?’

धरानले चिनेको भान्जा

अन्य ठाउँका मानिसहरूले सुदनलाई कति चिन्थे थाहा छैन । तर, धरानेहरूले भने उनलाई तीन वर्ष अघि देखिनै राम्रोसँग चिनेका छन् । धरानमा उनलाई सबैजसोले “भान्जा” भनेर बोलाउँछन् । यहाँको परम्पराअनुसार, लाहुरे जान लागेकाहरू साना नानीहरूलाई भान्जा÷भान्जी भनेर सम्बोधन गर्छन् ।

म पनि उनलाई “भान्जा” नै भन्छु, किनभने उनको आमा ज्ञानु लामाले मलाई दाजु मानेकी छन् । धेरै वर्षअघि, दशैंको समयमा ज्ञानु लामा, सुदन र सोनीलाई लिएर धरान–१३ मा रहेको मेरो छिमेकी रुपम लामा दाईको घरमा आएकी थिइन् । रुपम दाइ उनीहरूको मावली मामा हुन् । त्यसै बेला हाम्रो चिनजान र नाताको सुरुवात भएको थियो ।

सुदनका बुडा मावलीहरू धनकुटामा भएकाले उनी धरान र धनकुटा आउजाउ गरिरहन्थे । एकपटक धरान आउँदा उनी वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफन्तको उपचारका लागि गएका थिए । तर, त्यहाँ देखिएको बेथिति र अस्तव्यस्तताले उनलाई अत्यन्तै दुःखी बनायो ।

सुदनले प्रतिष्ठान सुधार गर्न “हामी नेपाल” संस्थामार्फत १५ बुँदे ज्ञापनपत्र बुझाए । तर तत्कालीन उपकुलपति डा. ज्ञानेन्द्र गिरीले त्यसलाई बेवास्ता गरेपछि आन्दोलन सुरु भयो ।

सुदनको नेतृत्वमा सुरु भएको सो आन्दोलनको केन्द्रमा वीपी प्रतिष्ठानको सुधार थियो । सुरुआतमा अस्पताल प्रशासन र सेवा सुधार, एमआरआई मेसिनको आवश्यकता, हिसाबकिताबमा पारदर्शिता आदि सामान्य मागहरू थिए ।

तर, आन्दोलन क्रमशः जटिल बन्दै गयो । सुदनले काठमाडौँबाट ५ जना स्वयंसेवक साथीहरू बोलाएर आन्दोलन व्यवस्थापनमा सहयोग गरे । धरानकी सृष्टि श्रेष्ठले पनि सुदनलाई साथ दिइन् । प्रत्येक दिन डाक्टर, कर्मचारी, विद्यार्थी, धराने युवा, महिला, भूतपूर्व सैनिक सबैजना कार्यक्रममा सहभागी हुन्थे ।

सुदनको भाषण कहिले भावुक, कहिले आक्रोशपूर्ण तर सधैँ सभ्य हुन्थ्यो । उनी धराने जनताको आँखामा हिरो बन्दै गए । त्यो समय २०८० सालको स्थानीय चुनाव नजिकिएको थियो । आन्दोलनमा सहभागीहरूले स्वतन्त्र उम्मेदवार हर्कलाई समर्थन जनाउँदै बोल्ने मौका पनि दिएका थिए । अन्य दलका उम्मेदवारलाई भने बोल्न दिइएन । यसै कारण केही दल र पत्रकारहरू आन्दोलन प्रति रुष्ट पनि थिए ।

आन्दोलन चलिरहेकै वेला चुनाव जितेका हर्कले आन्दोलनप्रति आभार प्रकट गर्नुको सट्टा आरोप लगाउँदै भने- “हामी नेपाल भन्ने संस्था त काठमाडौँबाट आएर धराने जनतालाई उचाल्ने,डलर खाने संस्था पो रहेछ भन्न भ्याए ।” सुदनले त्यसको कडा प्रतिवाद गरे ।

सात महिनासम्म चलेको आन्दोलनले वीपी प्रतिष्ठानमा थुप्रै सुधार ल्यायो । यद्यपि पछि फेरि पुरानै अवस्था फर्किएको थियो । तर, सुदनले अन्तिम दिनको सभामा भनेका थिए– “हामी नेपाल भन्ने संस्थाले बुझेको छ, देशमा ठूला परिवर्तन नल्याई जनतालाई राहत मिल्दैन ।” त्यो भनाइ आज पनि मेरो स्मृतिमा ताजै छ ।

धरानको त्यो बेलाको उनको अभिब्यक्ति आज जेनजी आन्दोलनको माध्यमबाट मुखरित भएर साँच्चै नयाँ नेपाल निर्माणका लागि गन्तव्य कोर्ने बाटोको कोशेढुंगा सावित भएको छ ।

सुदन गुरुङ एक असल नागरिक, विद्रोही मनोवृत्तिका अभियन्ता मात्र होइनन्, उनी भोलिका नेपालका लागि प्रेरणादायी नेतृत्वका सम्भावित पात्र पनि हुन् । उनको संघर्ष, भावुकता र अडानलाई नमन ।

प्रतिक्रिया दिनुहोस्