कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनतालाई आवश्यक सेवा छिटो प्रदान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

आज धनगढीस्थित निवासमा विषयगत मन्त्री र सचिवहरूको बैठकमा शाहले भौतिक क्षति भए पनि सेवा प्रवाह नरोकिने गरी मन्त्रालयहरूले काम अघि बढाउनुपर्ने बताए । साथै, खर्च कटौतीसम्बन्धी विवरण बिहीबारसम्म पेश गर्न पनि सचिवहरूलाई निर्देशन दिएका छन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोडले २९ कार्यालयमा क्षति पुगेको थियो। केही कार्यालयले मर्मतपछि सेवा सुरु गरे पनि अन्य अझै बन्द छन् । मुख्यमन्त्री शाहले यसअघि ती क्षतिग्रस्त कार्यालयहरूको स्थलगत निरीक्षण गरिसकेका छन् ।











