Logo
Logo

कुमारी बैंकको कोभिड–१९ विरुद्ध सचेतना कार्यक्रम


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कुमारी बैंक लिमिटेड सुदूरपश्चिम प्रादेशिक कार्यालय महेन्द्रनगर, कञ्चनपुरले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा महेन्द्रनगर बजारमा सामाजिक सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कञ्चनपुर शाखा, झलारी शाखा तथा चाँदनी–दोधारा शाखाका कर्मचारीहरूसहितको उपस्थितिमा कार्यक्रम गरेको हो ।

बैंकको प्रादेशिक कार्यालयबाट बिहान ९ बजेदेखि सुरु भई चम्मन चौराहाबाट सब्जीमन्डी हुँदै महेन्द्रनगर बजारको १, २, ३, ४ र ५ नं गल्ली परिक्रमा गरी बैंकको प्रादेशिक कार्यालयमा ११ बजे समापन भएको बैंकले जनाएको छ । कार्यक्रममा बैंकले महेन्द्रनगर बजारमा मास्क लगाउन प्रेरित गरी मास्क नलगाई हिँडेका विभिन्न व्यक्तिहरूलाई १ हजार थान मास्क तथा १ सय ५० थान ह्यान्ड स्यानिटाइजर वितरण गरेको बैंकले जनाएको छ ।

कार्यक्रममा कर्मचारीले मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गर्ने, भीडभाड नगर्ने तथा साबुनपानीले हात धुनेजस्ता विविध सचेतनामूलक नारा लेखिएका ब्यानर तथा प्लेकार्ड बोकेर सोमार्फत कोभिड–१९ नियन्त्रण र रोकथामका लागि पूर्वसावधानीका सन्देश दिएको बैंकले जनाएको छ । कुमारी बैंकले सुदूरपश्चिम प्रदेशमा १९ शाखा र ८ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्