Logo
Logo

फागुन २१ भित्र चुनाव गछौँ : प्रधानमन्त्री


378
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउने लक्ष्यका साथ आफ्नो अन्तरिम सरकारले काम गरिरहेको बताएकी छन् । 

The current image has no alternative text. The file name is: susila.gif

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने मुख्य जिम्मेवारीका साथ आफूले सरकारको नेतृत्व सम्हालेको उल्लेख गरिन् । 

उनले निर्वाचनका लागि आवश्यक जनशक्ति, बजेट, सामग्री र सुरक्षा व्यवस्थाको तयारी तीव्र गतिमा भइरहेको जानकारी दिइन् । साथै, १८ वर्ष पुगेका युवालाई मताधिकार सुनिश्चित गर्न र मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन कानुनमा अध्यादेशमार्फत संशोधन गरिसकिएको उनले बताइन् । 

प्रधानमन्त्री कार्कीले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने सम्भावनाबारे निर्वाचन आयोगसँग छलफल भइरहेको पनि उल्लेख गरिन् ।

उनले भनेकी छन्, “स्वतन्त्र, निष्पक्ष र भयमुक्त निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गर्छु ।”

उनले देशभर शान्तिपूर्ण वातावरण कायम राख्न सबैलाई अपिल गर्दै ६ महिने अन्तरिम सरकारको मुख्य प्राथमिकता निर्वाचन सम्पन्न गराउनु रहेको स्पष्ट पारिन् ।

उनले आन्दोलनमा उठेका सबै मागलाई यो छोटो अवधिमा सम्बोधन गर्न सम्भव नभए पनि सरकारको ध्यान निर्वाचन प्रक्रियालाई सफल बनाउन केन्द्रित रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्