Logo
Logo

नेताहरूले देखाएनन् सुध्रिने संकेत, जेनजी थाले ‘एक्सपोज झोले’ अभियान


2.3k
Shares

काठमाडौं । इन्डोनेसियाबाट सुरु भएको ‘नेपो बेबी’ अभियानले जब नेपालमा पाइला टेक्यो, त्यति बेला धेरैले यसलाई सामान्य सामाजिक सञ्जालको ट्रेन्ड मात्र ठाने । तर, सामाजिक सञ्जालको एउटा ट्रेन्डले झन्डै दुई–तिहाइ बहुमतको शक्तिशाली सरकार ढाल्छ भन्ने कसैले सोचेका पनि थिएनन् । 

‘नेपो बेबी’ अभियानमा युवाहरूले नेताका छोराछोरीहरूको विदेशी शिक्षा, महँगा गाडी, ब्रान्डेड कपडा, भव्य पार्टी र विदेश भ्रमणका तस्बिरहरू संकलन गरेर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै प्रश्न उठाएका थिए । तर, यो अभियान केवल सामाजिक सञ्जालमै सीमित रहेन । सामाजिक सञ्जालमा सुरु भएको आक्रोश जब सडकमा पोखियो, त्यसले झन्डै झन्डै दुई तिहाइ बहुमतसहितको शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै ढाल्यो । 

प्रधानमन्त्री ओली मात्र होइन, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)जस्ता प्रमुख दलका शीर्ष नेता र मन्त्रीहरूको भागाभाग चल्यो । परम्परागत दलहरूका कार्यालय, नेताहरूको निवास, डेरा, सवारीसाधन केही पनि जोगिएन । 

त्यति मात्रै होइन देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, न्यायको मन्दिरको रूपमा लिइने सर्वोच्च अदालतदेखि संसद् भवन, राष्ट्रपति कार्यालय, विशेष अदालत, उच्च अदालत, जिल्ला अदालत, प्रहरी कार्यालय, सरकारी संरचना र सवारीसाधनहरू केही बचेनन् ।

आन्दोलन हिंसा, आगजनी र बर्बरतामा परिणत हुँदा ७४ जनाको ज्यान गयो निजी क्षेत्रमा मात्रै ८० अर्बभन्दा बढीको क्षति भयो । देशमा यति ठूलो जनधनको क्षति हुँदा पनि पुराना दल र तीनका नेताहरूले अझै सुध्रने छाँटकाँट देखाएका छैनन् । नेता तथा कार्यकर्ताले उही पुरानै शैली र प्रवृत्ति दोहो¥याउन थालेका छन् ।

राजनीतिक दलका नेता तथा कार्यकर्ताको मति र गति दुवै सुध्रने नदेखिएपछि जेनजी पुस्ताले फेरि ‘एक्सपोज झोले’ अभियान सुरु गरेको छ । यो अभियानले विशेषगरी राजनीतिक दलका शीर्ष नेताहरूका नजिकका कार्यकर्ता, छोराछोरी र अवसरवादी व्यक्तिहरूलाई निशाना बनाएको छ । टिकटकमा ह्यासट्याग एक्सपोज झोलेसहितका भिडियो र तस्बिरहरूमा नेताहरूसँग फोटो खिचाउने कार्यकर्ताहरूलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ । यी भिडियो र तस्बिरहरूमा ‘मनी, मनी, मनी…’ जस्ता गीत र व्यङ्ग्यात्मक क्याप्सन प्रयोग गरिएको छ ।

यो अभियानले पुराना दलहरूको नेतृत्व र तिनका कार्यकर्ताहरूको अवसरवादी प्रवृत्तिमाथि प्रश्न उठाएको छ । जेनजी पुस्ताको ठूलो आन्दोलन र बलिदानका बाबजुद पनि नेता तथा कार्यकर्ताले सुध्रिने कुनै संकेत देखाएका छैनन् । पुराना दलका कार्यकर्ताहरूले ‘झोले हुनुमा गर्व छ’ भन्दै सामाजिक सञ्जालमा फोटो तथा भिडियो पोस्ट गरिरहेका छन् । नेकपा एमालेले त केही समयअघि ‘म झोले हो’ अभियानै चलाएको थियो । यदि त्यही पुराना पार्टीका त्यही बुढा नेताहरू फेरि राजनीतिमा आए भने नयाँ पुस्ताले फेरि दुःख पाउने भन्दै उनीहरूले झोले एक्स्पोज अभियान चलाइरहेका छन् । जेनजी आन्दोलनको मुख्य मागमध्ये नेतृत्वमा पुस्तान्तरण पनि एक थियो । 

’जेनजी आन्दोलन’पछि केही दलहरूले नेतृत्व हस्तान्तरणको कुरा उठे पनि हालसम्म त्यसले कुनै ठोस रूप लिन सकेको छैन । दोस्रो र तेस्रो तहका नेताहरू पहिलो र दोस्रो पुस्ताका नेताहरूलाई राजनीतिबाट बिदा लिन आग्रह गरिरहेका छन्, तर त्यो आग्रह कति प्रभावकारी हुन्छ भन्ने अझै स्पष्ट छैन । सामाजिक सञ्जालको प्रभाव र भविष्य ‘नेपो बेबी’ अभियान तथा ‘जेनजी आन्दोलन’ले प्रस्ट रूपमा देखाइसकेका छन् ।

यी अभियानहरूले पुराना राजनीतिक दलहरूलाई सच्चिने कि सकिने भन्ने चेतावनी दिएको छ । पुराना पार्टीका युवा नेताहरूलाई पनि पछिल्लो पुस्ताले विश्वास र भरोसा गर्न सकेको छैन । सामान्य परिवारका सदस्य मात्र होइन, तिनै दलका पदाधिकारीकै छोराछोरी वा नातिनातिनाले समेत उनीहरूलाई पत्याउन छाडेका छन् । 

सत्ताको राइँदाइँमा रमाएका पुराना राजनीतिक दलले जनतासँग विच्छेद भएको सम्बन्धलाई जोड्ने र सच्चिने हो भने पहिला ८ देखि ३० वर्ष उमेर समूहका छोराछोरी वा नातिनातिनीलाई सुन्नुपर्छ । घरकैले नपत्याउने नेता, नेतृत्व, योजना, कार्यक्रमलाई जनताका छोराछोरीले पनि पत्याउँदैनन् । 

यदि अब पनि पुराना दल र नेता सच्चिएनन् भने उनीहरूको अवस्था झन् कमजोर बन्दै जानेछ । र, नयाँ समूहको उदय हुँदै जानेछ । पुराना दल र तीनका नेता तथा कार्यकर्ताको लागि अहिले नै सुधारको उपयुक्त समय हो । यदि अझै पनि सुध्रिएनन् भने “पढायो पढायो पाठ १६ दुना आठ’’ भन्ने उखान चरितार्थ हुनेछ । 

प्रतिक्रिया दिनुहोस्