
काठमाडौं । गत भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा भाटभटेनी सुपर मार्केटका विभिन्न स्टोरमा आगजनी र तोडफोड भयो । धेरैले तोडफोडपछि लुटपाटसमेत गरे । अहिलेसम्म पनि कसैले डल (खेलौना) त कसैले प्रेसर कुकरदेखि कपडा, रक्सीका बोतलसम्म चोरी गरेको भिडियो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिनछन् ।
मुलुकको अर्थतन्त्रलाई ठूलो योगदान गर्ने भाटभटेनी प्रायः आन्दोलन र विरोध प्रदर्शनको मुख्य निशाना बन्ने गरेको छ । हालैको जेन–जी आन्दोलनमा मात्र भाटभटेनीका २८ शाखामध्ये १२ वटा सुपरमार्केटमा चोरी, डकैती र आगजनी गरेर पूर्ण क्षति पु¥याइयो । नौ वटा स्टोरमा तोडफोड र चोरी भए भने सात वटा स्टोर भने सुरक्षित रहे । यसरी १२ वटा शाखा खरानी हुँदा अर्बौँ रुपैयाँको क्षति भएको छ ।
तर, चुनौतीका बीच पनि भाटभटेनीले हार मानेको छैन । केही दिनमै १६ वटा शाखा पुनः सञ्चालनमा ल्याइसकेको छ । उपत्यकाभित्र टोखा, सातदोबाटो, अनामनगर, त्रिपुरेश्वर, पाटन, कलंकी, सानागाउँ, राधेराधे र बालाजुका साथै उपत्यकाबाहिर नेपालगञ्ज, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवामा भाटभटेनी सञ्चालनमा आएका छन् ।
भाटभटेनीमाथि प्रहार गर्नु भनेको मीनबहादुर गुरुङको मात्र सपना नष्ट गर्नु होइन, हजारौँ कर्मचारी, किसान र उपभोक्ताको भविष्यमाथि आक्रमण गर्नु हो । आन्दोलनमा पसल जलाउनु वा लुट्नु समाधान होइन, बरु रोजगारी, लगानी र मुलुककै सम्पत्ति नष्ट गर्नु हो ।
आगजनीबाट ध्वस्त हुँदासमेत भाटभटेनीमा कार्यरत करिब १० हजार कर्मचारीमध्ये कसैले पनि रोजगारी गुमाउनुपरेको छैन । नेपालीहरूको महान् चाड बडा दसैँ नजिकिँदै छ । चाडबाडको सम्मुखमा भाटभटेनीमा भएको आक्रमण, तोडफोड र लुटपाटले धेरैको रोजीरोटी गुम्ने खतरा थियो । तर मनका धनी मीनबहादुर गुरुङले दशैंलाई लक्षित गर्दै कोही पनि कर्मचारीको जागिर नगुम्ने, तलब नकाटिने र दसैँ भत्तासमेत दिइने उद्घोष गरेका छन् ।
अनेक दुःख र हन्डर ठक्करको चपेटालाई पार लगाउँदै अगाडि बढेका भाटभटेनीका संस्थापक मिनबहादुरले दसैँको मुखमा कर्मचारीको मनोबल कमजोर नबनाउन र उनीहरूको रोजीरोटीको बाटो बन्द नगर्न मुटु दह्रो बनाएर कर्मचारीमैत्री निर्णय लिएका छन् । यसले भाटभटेनी र मिनबहादुरको प्रशंसा चुलिएको छ । यसरी कर्मचारीहरूका लागि मीनबहादुर भगवान् बनेका छन् ।
पटक पटकको विषम परिस्थितिबाट पनि उनले भाटभटेनीलाई कुशल अभिभावकत्व दिँदै आएका छन् । जसको निरन्तरता स्वरूप उनले अहिलेको विषम परिस्थितिमा पनि भाटभटेनीका कर्मचारीको मनोबल गुम्न नदिई उनीहरूलाई उत्प्रेरणा दिइरहेका छन् । यसले परिवारसरह कर्मचारीलाई महत्त्व दिने संस्थाको रूपमा भाटभटेनीलाई चिनाएको छ ।
‘भौतिक संरचना आगजनीले नष्ट गर्न सक्छ, तर भाटभटेनीको आत्मा र संकल्पलाई कहिल्यै निभाउन सक्दैन’ भाटभटेनी साँच्चै सोही मर्मलाई आत्मसाथ गर्दै अनवरत र बलियो गरी यात्रा तय गर्दै छ । भाटभटेनीले भनेको छ, ‘हामी अझ सबल भएर अघि बढ्नेछौं र नेपाली जनताको सेवामा निरन्तर प्रतिबद्ध रहनेछौं ।’
नेपालको उद्यमशीलताको इतिहास लेख्दा भाटभटेनी सुपरमार्केटलाई छाडेर अघि बढ्न सकिँदैन । सानो किराना पसलबाट सुरु भएको यो यात्रा आज देशकै सबैभन्दा ठूलो खुद्रा व्यापार चेनमा परिणत भइसकेको छ ।
संस्थापक मीनबहादुर गुरुङको लगन, श्रम र संकल्पसँगै हजारौँ कर्मचारीको मिहेनत, लाखौँ उपभोक्ताको विश्वास र साना किसान तथा उद्यमीको योगदान मिसिएर बनेको यो कथा केवल एक व्यक्तिको मात्र नभई समग्र नेपाली उद्यमशीलताको सामूहिक कथा हो ।
२०४१ सालमा ३५ हजार रुपैयाँ पुँजीसहित सुरु भएको किराना पसल नै आजको भाटभटेनी सुपरमार्केट हो । प्रारम्भमा थोरै सामानसहितको किराना पसललाई विस्तार गर्दै लैजाँदा यो संस्था अहिले वार्षिक ३० अर्ब रुपैयाँभन्दा बढी कारोबार गर्ने खुद्रा व्यापार चेन बनेको छ ।
हाल देशभर २८ शाखासहित सञ्चालनमा रहेको भाटभटेनीमार्फत दैनिक लाखौँ उपभोक्ताले सुविधा पाउँछन् भने करिब १० हजार मानिस प्रत्यक्ष रोजगारीमा आबद्ध छन् । यसरी हेर्दा, भाटभटेनी केवल पसल होइन, हजारौँ परिवारको जीवनरक्षा गर्ने एउटा आधारस्तम्भ बनेको छ।
भाटभटेनीको विशेषता भनेको यसको रोजगार संरचना हो । यहाँ कार्यरत करिब ९५ प्रतिशत कर्मचारी महिला छन् । यसले हजारौँ महिलालाई आत्मनिर्भर बनाएको छ । आय आम्दानीमार्फत उनीहरू आर्थिक रूपमा सबल बनेका छन् । यसले भाटभटेनीलाई केवल व्यापारिक संस्था मात्र नभई महिला सशक्तीकरणमा योगदान दिने सामाजिक अभियानका रूपमा पनि स्थापित गराएको छ ।
धेरैले भाटभटेनीलाई आयातित सामान मात्रै बेच्ने सुपरमार्केटका रूपमा बुझ्ने गर्छन् । तर वास्तविकता फरक छ । यहाँ स्थानीय किसानका तरकारी, फलफूल, दूध–दहीदेखि घरेलु उद्योगीले उत्पादन गरेका परिकार—अनर्सा, सेलरोटी, घिउ, अचारसमेत सजिलै पाइन्छ । यसरी हेर्दा, भाटभटेनीले साना किसान र घरेलु उद्यमीलाई ठूला बजारसम्म पु¥याउने पुलको काम गरिरहेको छ ।
कर तिर्नेमा अग्रपंक्तिमा
भाटभटेनीलाई बारम्बार देशकै ठूलो करदाताको रूपमा सम्मान गरिएको छ । कर दिवसमा संस्थापक मीनबहादुर गुरुङलाई स्वयम् अर्थमन्त्रीले सम्मान गर्नु यसको स्पष्ट प्रमाण हो । यसले भाटभटेनी केवल नाफा कमाउने उद्देश्यले मात्र सञ्चालन भएको संस्था नभई राष्ट्रलाई ठूलो योगदान दिने जिम्मेवार करदाता भएको देखाउँछ ।
भाटभटेनी समूह खुद्रा व्यापारमै सीमित छैन । समूहले भैरहवास्थित विशेष आर्थिक क्षेत्रमा अत्याधुनिक गार्मेन्ट उद्योगको शिलान्यास गरिसकेको छ । अध्यक्ष मीनबहादुर गुरुङले भूमि पूजासहित शिलान्यास गरेका यस उद्योगले नेपाललाई औद्योगिक विविधिकरणमा नयाँ चरणतर्फ डोहो¥याउने अपेक्षा गरिएको छ । यसले रोजगारी सिर्जना मात्र होइन, निर्यात प्रवद्र्धन र औद्योगिक विकासमा सकारात्मक सन्देश दिन्छ ।
सामाजिक उत्तरदायित्वमा उदाहरणीय
मीनबहादुर गुरुङ र सावित्री गुरुङले सामाजिक क्षेत्रमा निरन्तर योगदान गर्दै आएका छन् । आफ्ना आमाबुबा वृषबहादुर गुरुङ र धनमाया गुरुङको सम्झनामा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा साढे ९ करोड रुपैयाँ लागतमा भवन केही महिनाअघि हस्तान्तरण गरेका थिए । यसअघि २०६८ सालमा पनि उनले सोही अस्पतालमा १० करोड रुपैयाँ लागतमा आकस्मिक कक्ष निर्माण गरिदिएका थिए।
त्यसैगरी, डा. भगवान् कोइरालाको नेतृत्वमा निर्माणाधीन बाल अस्पतालका लागि उनले ४१ करोड बराबरको सहयोग गरेका छन् । यस्तै, २०८१ असोजमा आएको बाढी पीडितका लागि उनले १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री कोषमार्फत् सहयोग गरेका छन् । यी योगदानहरूले भाटभटेनी केवल नाफा कमाउने संस्था नभई राष्ट्र र समाजप्रति उत्तरदायी संस्था भएको स्पष्ट देखाउँछन् ।
व्यावसायिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै मीनबहादुर गुरुङलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सुप्रवल जनसेवा श्री पदकले सम्मानित गरेका छन् । यो सम्मानले उनलाई केवल सफल व्यवसायी मात्र नभई राष्ट्रप्रति उत्तरदायी उद्यमीको रूपमा स्थापित गरेको छ ।
भाटभटेनी सुपरमार्केट आज मीनबहादुर गुरुङको मात्र नभई नेपालको सम्पत्ति बनेको छ। यसलाई जलाउनु वा लुट्नु भनेको नेपालकै भविष्य जलाउनु हो । आन्दोलन गर्नुपर्छ, असन्तुष्टि प्रकट गर्नुपर्छ, तर कर तिर्ने, रोजगारी दिने र समाजलाई योगदान दिने संस्थामाथि आक्रमण गर्नु मुलुककै अर्थतन्त्रका लागि घातक हो । कठिनाइ र क्षतिबाट गुज्रिँदा पनि कर्मचारीलाई सुरक्षित राख्ने, दशैंमा तलब–बोनस सुनिश्चित गर्ने र नयाँ उद्योगमा लगानी गर्ने भाटभटेनी समूहको निर्णय उद्यमशीलताको असली शक्ति हो ।
भाटभटेनीले सन्देश जारी गरेको छ, ‘दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन । आज हाम्रो पसल ध्वस्त भए पनि तपाईँहरूको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौँ । हजारौँ सहयोगी हातहरूले सफा गर्न मद्दत गरिरहेका छन्, आँसु पुछिरहेका छन् र हामीलाई फेरि उठ्न शक्ति दिइरहेका छन् । भाटभटेनी फेरि उभिनेछ । तपाईँहरूको साथमा हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं ।’
भाटभटेनी र धनी मनका व्यवसायी मीनबहादुर गुरुङले भाटभटेनीलाई फेरि उठाउन सक्नुपर्छ । बर्बरतापूर्ण आक्रमणलाई चिर्दै भाटभटेनी र संस्थापक मीनबहादुर अगाडि बढ्न सकुन्, यस यात्रामा लागिरहुन्, शुभकामना ।














