Logo
Logo

कोरोनाले फिलिम त चिलिम भयो-गायत्री थापा, गीतकार तथा गायिका


- दृष्टि न्युज/संवाददाता


सुरुमा उनी गीतकार गायत्री थापा भनेर चिनिन्थिन् । त्यसपछि अर्को परिचय थपिन्, ‘गायिका’ । गीतकार तथा गायिका थापा अब निर्देशकसमेत बनेकी छन् । उनी निर्देशित पछिल्लोे भिडियो सोमबारमात्रै रिलिज भएको छ । ‘मर्नु बाँच्नु’ बोलको दशैँ–तिहार गीत आजै रिलिज गरेकी छु’ सोमबार थापाले भनिन्, ‘अरु गीतको पनि तयारी गर्दैछु ।’ हालसम्म करिब चार सयको हाराहारीमा गीत सिर्जिना गरिसकेकी गायत्री थापा भन्छिन्, ‘म गीतकार नै हुँ, तर, गीतकारलाई स्टेज पर्फमेन्सका लागि अफर नआएपछि गाएकी हुँ ।’ शिव दर्शन फिल्म एण्ड म्युजिक कम्पनीसमेत सञ्चालन गर्दै आएकी गीतकार थापा भन्छिन्, ‘अहिले त संगीत क्षेत्रमा कमाइ नै छैन । कोरोनाले चिलिम नै बनायो ।’ यिनै गीतकार तथा गायिका गायत्री थापासँग जम्काभेट :

हिजोआज दिन कसरी बित्दैछ ?

गीतसंगीतमै व्यस्त छु । भर्खरै दशैँ–तिहार गीतको भिडियो रिलिज गरेकी छु । यो गीतलाई खुमन अधिकारी र शान्ति परियारले गाएका हुन् । मैलेचाहिँ भिडियो निर्देशन गरेकी हुँ । दशैँ–तिहार लक्षित भएपनि यो गीत सेन्टिमेन्टल छ ।

लकडाउनको समयमा पनि व्यस्त ?

अरुबेला जस्तो व्यस्तचाहिँ होइन । यसपटक तीजमा चार वटा गीत ल्याएँ । त्यो समय पनि लकडाउन थियो । त्यसपछि अहिले दशैँलाई लक्षित गरेर ‘मर्नु बाँच्नु’ बोलको आफ्नो निर्देशनमा भिडियो ल्याएकी हुँ । कोरोना संक्रमण र लकडाउन भनेर चुप लागेर बस्नु भएन । काम गर्नै प¥यो ।

त्यसोभए तपाइँलाई लकडाउनको प्रभाव परेन ?

प्रभाव नपर्ने भन्ने कुरै हुँदैन । ५÷६ महिना भइसक्यो लकडाउन भएको, यो अवधिमा कम्पनी नचलेपनि भाडा तिर्नुपरेको छ । अरुबेला जस्तो खुलेर काम पनि गर्न पाइएको छैन । न त कार्यक्रमहरु नै भएका छन् । यो कोरोनाले अरु क्षेत्रजस्तै गीतसंगीत क्षेत्र पनि प्रभावित भएको छ ।

गीतकार, गायिका हुँदै म्युजिक भिडियो निर्देशनतिर किन नि ?

खासमा गीतकार नै हुँ । रहरले मात्र गाएकी हुँ । गीतकालाई कुनैपनि कार्यक्रममा पर्फमेन्सका लागि बोलाइदैन । त्यसैले केही गीत गाउनुप¥यो भनेर गाएकी हुँ । गीत गाउन थालेपछि गायिका भन्न थाले । तर, आफूलाई गीतकार नै भन्न रुचाउँछु ।

स्टेज कार्यक्रम पाउनकै लागि गीत गाउनुभएको हो ?

हो, गीत जति हिट भएपनि गीतकारलाई कार्यक्रममा बोलाइँदैन । मेरो गीतहरु थुप्रै हिट छन् । तर, गायक÷गायिकालाई मात्र बोलाउने र उनीहरुमात्र चर्चामा आउने भएकाले पब्लिक फिगर हुुनका लागि गाउन सुरु गरेकी हुँ । गाउन थालेपछि देश–विदेशबाट स्टेज कार्यक्रमका लागि अफर आउन थालेको छ ।

भिडियो निर्देशनतिर व्यस्त भएपछि आफ्नो शब्दमा गीत कम आउन थालेको हो ?

त्यस्तो होइन, आइरहेका छन् । भर्खरै मेरो शब्दमा मेलिना राई र श्रीकृष्ण बममल्लको स्वरमा ‘वर पिपलमा’ बोलको गीत आएको छ । उक्त गीत यु–ट्युबका दर्शकमाझ हिट छ । चाँडै तीन वटा गीत मेरै शब्दमा आउँदैछ ।

अहिलेसम्म तपाइँका शब्दमा कति गीत रेकर्ड भए ?

पोहोर साल राष्ट्रपतिले सम्मान गर्ने भएपछि गन्ती गर्दा ३७० पुगेको थियो । अहिले त चार सयभन्दा बढी भइसक्यो होला । आफ्नो स्वर र शब्द गरी १५ सयभन्दा बढी गीत गरिसकेकी छु ।

फिल्म बनाउने कुरा थियो, के हुँदैछ ?

कोरोनाले गर्दा फिलिम त चिलिम भयो । अहिलेको अवस्थामा फिल्म बनाएर चल्दैन पनि । त्यसैले फिल्म बनाउने जोश म¥यो ।

अहिले गीतसंगीतबाट आम्दानी कस्तो छ ?

अहिले आम्दानी छैन । स्टेज कार्यक्रम ठप्प छ । जति आम्दानी हुन्छ, यु–ट्युबबाट हुने हो । लकडाउनका कारण त्यो पनि छैन ।

सरकारले कोरोना नियन्त्रण गर्न चालेको कदमलाई कसरी बुझ्नुभएको छ ?

मलाई त पटक्कै चित्त बुझेको छैन । यहाँ रोगले भन्दा भोकले मर्ने बेला आएको छ । कर छुट, घरभाडा छुट दिने भनेर सरकार गफ गर्छ । तर, एक रुपैयाँ कर छुट दिएको छैन । घरभाडाको कुरै नगरौँ । मेरो घरमा बस्नेहरुलाई आफ्नै खुसीले दुई महिनाको भाडा छुट दिएँ । तर मलाई यो सरकारले के दियो त ?

प्रस्तुति : एमपी सुब्बा

प्रतिक्रिया दिनुहोस्