Logo
Logo

कांग्रेसको प्रचार विभागमा अलपत्रकार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० भदौ । नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्मा प्रमुख रहेको सूचना, सञ्चार तथा प्रचार विभागमा मनोनित सदस्यहरुका विषयलाई लिएर कांग्रेस निकट पत्रकारहरुबीच तीव्र असन्तुष्टि बढेको छ ।

शर्माले यही भदौ १७ गते गठन गरेको ४८ सदस्यीय विभागमा कांग्रेसका पक्षमा लामो समयदेखि वकालत गर्दै आएका पत्रकारहरु नसमेटिएपछि बढेको असन्तुष्टि महामन्त्री पूर्णबहादुर खड्का, उपसभापति विमलेन्द्र निधि हुँदै सभापति शेरबहादुर देउवासम्म पुगेको छ । कांग्रेस स्रोतका अनुसार प्रवक्ता शर्माले शीर्ष नेतृत्वसँग सामान्य सल्लाहसमेत नगरी विभागमा सदस्यहरु मनोनित गरेपछि देउवापक्षीय पदाधिकारीहरुसमेत आश्चर्यमा परेका छन् ।

शर्माले आफू नेविसंघको अध्यक्ष हुँदाका बखत सहयोग गरेका नेविसंघका कार्यकर्तालाई प्रचार विभागमा राखेका छन् । उनले आगामी १४औँ महाधिवेशनलाई मध्यनजर गर्दै महाधिवेशन प्रतिनिधि बनेर आउनसक्ने सम्भावना भएका विद्यार्थीहरुलाई मनोनित गरेका छन् । जसले गर्दा ती सदस्यहरु भोलि आफ्नो झोला बोकेर प्रचारमा लागुन् भनेर नै शर्माको त्यस्तालाई मनोनित गरेका हुन् ।

प्रचार विभागमा बसेर चुनाव वा पार्टीको महाधिवेशनमा मिडियासँग समन्वय गर्न सक्ने अनुहार विभागमा देखिएको छैन । विभागको उपप्रमुखमा सुरेश आचार्यको नियुक्तिलाई लिएर कांग्रेस निकट वरिष्ठ पत्रकारहरुले अनौठो मानेका छन् । माओवादी निकट एबिसी टेलिभिजनमा बसेर प्रचण्डको प्रवक्ताका रुपमा काम गरेका आचार्य आफूलाई व्यावसायिक पत्रकार हुँ भन्दै कांग्रेसका समाचारमा कैंची लगाउने काम गर्दथे ।

यसैगरी सचिवमा मनोनित गरेका सिन्धुपाल्चोक दिनेश थापामगरको पत्रकार र पत्रकारिता पेशासँग गोरु बेचेको साइनोसमेत छैन । उनी नबप्रवेशी कांग्रेसी हुन् । तर उनलाई के कारणले सचिवको महत्वपूर्ण जिम्मेवारी सुम्पिए भनेर सानेपामा कानेखुसी हुने गरेको छ । दरबारको पक्षपोषण गरेर थाकेपछि कांग्रेस प्रवेश गरेका नीर शाहदेखि बझाङका देउडा गायक नन्दकृष्ण जोशीले पनि प्रचार विभाग सदस्य भएका छन् । नियुक्ति पाएका अर्का सदस्य काभ्रेका मधुकर खनालको पनि पत्रकारितासँग कुनै साइनो छैन ।

सुदूरपश्चिममा देउवालाई खुसी पार्न पत्रकारिताको कखरा सिक्दै गरेका डोटीका टेकराज अवस्थीलाई सदस्य बनाएका छन् । सुदूरपश्चिमलाई कर्मथलो बनाएर बर्षौदेखि कार्यरत पत्रकारहरु अवस्थीको नियुक्तिलाई लिएर आक्रोशित छन् । देउवाको गृहजिल्ला डडेल्धुराबाट रमेश जोशीलाई प्रचार विभागको सदस्य बनाइएको छ । जोशीको बिगतबारे जान्नेहरु उनको नियुक्तिलाई लिएर प्रवक्ता शर्माको बौद्धिक व्यक्तित्व झल्किएको भन्दै ब्यंग्य गरेका छन् ।

राष्टिय प्रजातन्त्र पार्टीको युवा संगठनको केन्द्रीय नेतृत्वमा बसेर काम गरेका जोशी राप्रपा नेता बिक्रम पाण्डेको चितवनस्थित सिनर्जी एफएममा केही समय काम गरेका थिए । सहकर्मी महिलामाथि यौन दुब्र्यबहार गरेपछि रेडियो व्यवस्थापनले उनलाई निष्काशन गरेको थियो । त्यसपछि दिलेन्द्र बडु सञ्चारमन्त्री भएका बेला स्वतन्त्र रेडियोहरुको साझा संस्था बानको सदस्य बनेका थिए । जतिबेला गोपाल झा बानको अध्यक्ष थिए । कांग्रेस नेता बडुको आशीर्वादमा उनी अघि बढेका हुन् । २०७४ को चुनावअघिको सरकारमा भौतिक पूर्वाधारमन्त्री वीरबहादुर बलायरको सचिवालयमा बसेर काम गरेका थिए । प्रचार विभागको सदस्य नियुक्ति भएको भोलिपल्टै उनले कांग्रेसका शीर्ष नेताहरुलाई तथानाम गाली गर्दै मनगढन्ते समाचार लेखेका थिए ।

प्रचार विभागको सदस्य बन्ने अर्का विवादास्पद व्यक्ति हुन् कपिलवस्तुका मोहमद बजिह अर्सद । पत्रकारितासँग कुनै साइनो नभएका अर्सद कपिलवस्तुका छाला ब्यापारी हुन् । उनी पैसाको धाक लगाउँदै हिँड्ने गर्छन् । देशभित्र मात्र होइन, प्रवक्ता शर्माले विभागमा देश बाहिरबाट सदस्यहरु पनि मनोनित गरेका छन् । जुन मनोनयनलाई लिएर विदेशस्थित जनसम्पर्क समितिका अध्यक्षहरुले असन्तुष्टि जनाएका छन् । शर्माले आफू विदेश जाँदा एयरपोर्टसम्म लिन आउने र किनमेलको व्यवस्था गरिदिनेहरुलाई मनोनित गरेका सम्बन्धित देशका जनसम्पर्क समितिका सदस्यहरुबीच यतिबेला चर्चा छ ।

तिनैमध्येका हुन् कतारका विमल सुवेदी, पोर्चुगलका चिजकुमार तामाङ, अमेरिकाका देशराज संयोक र जापानका नारायण सुवेदी । पोर्चुगलका अध्यक्ष पूर्ण हमालले केन्द्रीय समितिका पदाधिकारीलाई टेलिफोन गरेर असन्तुष्टि जनाइसकेका छन् । समावेशीका नाममा राखिएका केही महिला सदस्यहरु योग्यता र क्षमताभन्दा पनि जिल्लाका नेताहरुलाई खुसी बनाएर विभागमा पर्न सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्