काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुका लागि हवाई टिकटमा ५० देखि ८० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । क्यानका महानिर्देशक प्रदीप अधिकारीको अध्यक्षतामा वायुसेवा सञ्चालक सङ्घ र आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरूको बैठकले यो निर्णय गरेको हो ।

निर्णयअनुसार ७० वर्षमाथिका ज्येष्ठ नागरिकले अधिकतम हवाई भाडादरमा ५० प्रतिशत, ७५ वर्षमाथिकाले ७० प्रतिशत र ८० वर्षमाथिकाले ८० प्रतिशतसम्म छुट पाउनेछन् ।
फरक क्षमता भएका यात्रुका लागि कम्तीमा ५० प्रतिशत छुट सुनिश्चित गरिएको छ । यो योजना तत्काल लागू गर्न वायुसेवा कम्पनीहरूलाई निर्देशन दिइएको छ । महानिर्देशक अधिकारीले यो निर्णयले हवाई यात्रामा समावेशीता र पहुँच अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे । विशेषगरी दुर्गम क्षेत्रका ज्येष्ठ नागरिकलाई यो सुविधाले सहज, सुलभ र किफायती यात्राको अवसर प्रदान गर्नेछ ।










