काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कानुनभन्दा माथि नभएको स्पष्ट पारेका छन् । ओलीमाथि अनुसन्धान हुन सक्ने संकेत गर्दै उनले अब पहिलेजस्तो अवस्था नदोहोरिने बताए ।

सोमबार विपिन जोशीको श्रद्धाञ्जलि सभातर्फ जाँदै गर्दा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्यालले ओलीलाई विदेश जान नदिनु सरकारको निर्णय नभई न्यायिक जाँचबुझ आयोगको निर्देशन भएको प्रष्ट गरे ।
ओलीले गृहमन्त्रीलाई आफूलाई विदेश जानबाट रोक्न चुनौती दिएको विषयमा सोधिएको प्रश्नमा अर्यालले भने, ‘यो आयोगले गरेको हो, सरकारले होइन । उहाँले आयोगलाई नै भन्नुपर्छ ।’ ओलीले आफूलाई ‘समाएर देखाउन’ चुनौती दिएको अर्को प्रश्नमा गृहमन्त्रीले भने, ‘उहाँले नै कानुन नमान्ने भनेर बोल्नुभएको हो ।’अर्यालले थप्दै भने, ‘केपी ओली मात्र कानुनभन्दा माथि बस्ने ? पहिले त्यस्तो हुन्थ्यो, अब त्यस्तो हुँदैन ।’










