
काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको अन्त्येष्टि अघि शवयात्रा सुरु भएको छ । भीमदत्त नगरपालिकास्थित भासीबाट केहीबेर अघि शवयात्रा सुरु भएको हो ।
शवयात्रामा नेपालका लागि इजरायली राजदूत सहित ३ जना प्रतिनिधि सहभागी छन् । उनको अन्त्येष्टि महाकाली नदीको भुजेला घाटमा राष्ट्रिय सम्मानसहित धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने छ ।
कञ्चनपुर प्रहरीका प्रवक्ता डीएसपी सागर बोहराले विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्ने जानकारी दिए । अध्ययनको सिलसिलामा इजरायल पुगेका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।
त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।
सोमबार मात्र इजरायलबाट नेपाल ल्याइएको जोशीको शव काठमाडौं हुँदै नेपाली सेनाले स्काई ट्रकमा सोमबार बेलुका नै घर पुर्याएको थियो ।










