काठमाडौं, ६ असोज । कोरोना महामारीबीच निजामती कर्मचारीमा चुनावी रौनक सुरु भएको छ । आगामी २४ असोजमा निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियनको निर्वाचन गर्न लागिएको छ । चुनावका लागि प्रचार सुरु भइसकेपनि एक समूह चुनाव रोक्ने पक्षमा देखिएको छ ।

सत्तारुढ नेकपा निकट कर्मचारी संगठन नै यतिबेला चुनाव रोक्ने पक्षमा देखिएको छ । तत्कालिन एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका नेताहरु भित्री रुपमा चुनाव रोक्ने पक्षमा रहेको स्रोत बताउँछ । संगठनभित्रै कसलाई अध्यक्ष बनाउने कुरा नमिल्दा पनि चुनाव स्थगित हुने सम्भावना देखिएको छ ।
अर्कोतर्फ संगठनका नेताहरु आफ्नै स्वार्थमा लागेकाले पनि पछिल्लो समय उसको लोकप्रियता खस्किएको छ । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी यूनियन यो चुनावमा उत्साहित देखिएको छ । यूनियनका नेताहरु जसरी पनि २४ असोजमै चुनाव गुर्नपर्ने पक्षमा देखिएका छन् ।
उता थ्रेसहोल्डका कारण मधेसी कर्मचारी यूनियनले चुनावमा भाग लिन नपाउने भएको छ । जसकारण उनीहरु पनि चुनाव रोक्न लागिपरेका छन् । उनीहरुले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई समेत उचालेर चुनाव रोक्न माग गर्दै पत्राचार गराएका छन् ।
उता चुनावमा नेकपा निकट दुई संगठनबीच नै प्रतिस्पर्धा हुने भएको छ । तत्कालिन एमाले निकट नेपाल निजामती कर्मचारी संगठन तथा तत्कालिन माओवादीनिटक राष्ट्रिय निजामती कर्मचारी संगठनबीच अझै एकता भएको छैन । जसकारण चुनावमा उनीहरुबीच प्रतिस्पर्धा हुन लागेको हो । अघिल्लो चुनावमा माओवादी निकट कर्मचारी संगठनले करिब १० प्रतिशत मात्र मत ल्याएको थियो ।











