Logo
Logo

प्रधानमन्त्रीसँग कलाकारहरूको भेटवार्ता, के सुझाव दिए ?


1k
Shares

काठमाडौं । बुधवार समकालीन नेपाली सिनेमाका नौ जना कलाकारले प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा भेटवार्ता गरेका छन् । कलाकारहरूले सरकारलाई अफवाह र दुष्प्रचारबाट नडराई दृढतापूर्वक अघि बढ्न सुझाव दिएका छन् । 

The current image has no alternative text. The file name is: PM-Sushila-karki-with-Actors-of-nepali-1024x606-1.jpg

भ्रष्टाचारविरुद्धको कारबाही र आगामी निर्वाचनलाई प्राथमिकतामा राखी अघि बढ्न उनीहरूले जोड दिएका छन्  ।अभिनेत्री ऋचा शर्माले सरकारसँग माग राख्न नभई देश बस्न योग्य बनाउन दह्रो अडान आवश्यक रहेको बताइन् । पूर्वप्रधानन्यायाधीशका रूपमा इतिहास रचेर कठिन परिस्थितिमा नेतृत्व सम्हालेकोमा उनले प्रधानमन्त्रीप्रति कृतज्ञता व्यक्त गरिन् ।

‘हामीलाई डर लागिरहेका बेला आमा आउनुभएको छ, ढुक्क भएको छ,’ उनले भनिन्, ‘यहाँको सरलता र स्पष्टताले भरोसा जगाएको छ । अविचलित रही अघि बढ्नुहोस्, हामी साथमा छौँ ।’ कलाकारहरूले सामाजिक सञ्जालमा सरकारविरुद्ध भइरहेको दुष्प्रचारप्रति चिन्ता व्यक्त गर्दै सरकारका कामकारबाही नियमित सार्वजनिक गर्न सुझाएका छन् ।

अभिनेता विपिन कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालको अडान र विपद् व्यवस्थापनको भूमिकाको प्रशंसा गर्दै सरकारप्रति विश्वास बढेको बताए । अभिनेता निश्चल बस्नेतले सरकार सही बाटोमा रहेको भन्दै दुष्प्रचारको पर्वाह नगरी राष्ट्रिय एकताका लागि अघि बढ्न आग्रह गरे । सङ्गीतकार कालीप्रसाद बाँस्कोटाले समाज भड्काउन खोज्ने तत्त्वहरूप्रति सचेत रहन र सम्हाल्ने समय आएको बताए ।

अभिनेता विजय बरालले परिवर्तन पक्षधर जनता एकजुट भएको र दुष्प्रचार गर्ने शक्तिलाई परास्त गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री कार्कीले दुष्प्रचार चिर्न कलाकारहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै असल नियतले काम गर्दा गालीको डर नमान्ने प्रतिबद्धता जनाइन् । भेटमा विजय बराल, सुजित बिडारी, निश्चल बस्नेत, विपिन कार्की, शान बस्न्यात, दिव्यदेव पन्त, कालीप्रसाद बाँस्कोटा र ऋचा शर्मा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्