Logo
Logo

आन्दोलनसँगै जन्मिएका नयाँ राजनीतिक प्रतीकहरू


1.2k
Shares


नेपालमा ‘जेनजी’ आन्दोलनपछि नयाँ नयाँ शब्द प्रचलनमा आउन थालेका छन् वा प्रयोग बढ्न लागेका छन् । ‘जेनजी’ शब्द नै नेपालीका सामान्यजनका लागि नौलो हो जसमा सन् १९९७ देखि २०१२ भित्र जन्मेकाहरू पर्छन् । तिनको निसानामा चाहिँ बेबी बुमर्स परेका छन् जो १९४६ देखि ६४ सम्म जन्मेकाहरू हुन् । दोस्रो विश्वयुद्धपछि जन्मदर ह्वात्तै बढेकाले त्यस समयावधिलाई ‘बेबी बुम’ र व्यक्तिचाहिँ ‘बेबी बुमर्स’ भनिन्छन् ।

जेनजी
नेपालमा श्रीलङ्का, बङ्गालदेशपछि भएको जेन्जी आन्दोलन सँगसँगै लुसिफर, डिपस्टेट, जखिरा शब्द पनि निक्ले । यो नेपाली शब्दभण्डारमा राम्रो योगदान हो । यसभन्दा बढी योगदान त यसबाट प्रेरित भई भारतको लद्दाख, मोरक्को र मदागास्कारमा आन्दोलन फैलिएर सरकार ढल्ने अवस्थामा पुगेका छन् । आखिर सन् १९९७ –२०१२ (विसं २०५४– ०६८) मा जन्मेका नवपुस्ताले नै सरकार ढाल्ने मात्र नभई प्रतिनिधिसभा बाहिरबाट अन्तरिम सरकार बनाउने परिस्थिति निम्तायो जसले ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मा पाएको छ ।

गत भदौ २७ गते युवापुस्ताको इच्छा र आकाङ्क्षानुसार पूर्वपहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा ‘कठिन प्रयत्नपश्चात्’ अर्थात् ‘बडो जुक्तिले’ अन्तरिम सरकार गठन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमा सघाउन भोलिपल्ट सोही भावको विज्ञप्तिमार्फत आग्रह गरे । त्यस्तो बडो जुक्तिको अर्थ खोज्न दलहरूले नखोजे पनि मिडियाले भने प्रयत्न ग¥यो । संविधानलाई थोरै मात्र मिचेर सेनालाई हावी हुन नदिन र नागरिक सरकार बनाउन सक्नु बडा जुक्तिमध्ये एक थियो ।

नवपुस्ताले नेतृत्व गरेको यस आन्दोलनले केही अन्य शब्दहरू मौलिक रुपमा प्रवेश गराएको छ भने केही विश्वमा पहिल्यै चलिआएका शब्द सापटी लिएर नेपालमा बहसमा ल्याइदिएको छ ।

लुसिफर
नख्खु कारागारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न गएका सामाजिक अभियानकर्मी डा निकोलस भुसालले भेट्ने अनुमति पाएनन् । उनले पोखरा र भैरहवामा भने लामिछानेलाई भेटिसकेका थिए । अहिले भेट्न नपाउनाको दोष उनले कामपाका प्रमुख साहलाई लगाए । उनले अघिल्लोभन्दा अहिलेको सरकारले लामिछानेलाई अत्याचार गरेको आरोप पनि लगाए । साहले विदेशी शक्तिका आडमा जेन्जी आन्दोलन हाइज्याक गरेको तर्क राख्दै डा भुसाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका पक्षमा छन् । भदौ २३ को प्रदर्शनमा दमन गर्नेहरूलाई यथाशीघ्र पक्राउ, भ्रष्टाचारीमाथि कारबाही र अन्तरिम संविधान जारी गर्ने वातावरण बनाउन पनि डा भुसाल समूहको माग छ ।

रवि, हर्क, दुर्गा र आफू बाहिर आए अथवा लोकप्रिय भए आफू पछि पर्छु भन्ने डर साहमा रहेको डा भुसालको भनाइ छ । “यो सरकारको मुख्य पात्र बालेन साह हो । रवि, हर्क, निकोलस, दुर्गा बाहिर आए भने म कम हुन्छु भन्ने डर उसलाई छ । मबाहेक कोही छैन र यिनीहरू सबैलाई पन्छाउँछु भन्ने सोचेको छ । अमेरिकी दूतावास र इन्डियन दूतावासले ‘लुसिफर’ लाई प्रयोग गरिरहेका छन्”, उनले भने । (रातोपाटी डटकम) राजनीतिक समीक्षक सौरभले पनि एक अन्तरवार्तामा यसको अर्थ अथ्र्याइदिएका छन् ।

यशैया पुस्तकका अनुसार ‘लुसिफर’ प्रारम्भमा परमेश्वरको सबैभन्दा सुन्दर र शक्तिशाली स्वर्गदूत थिए । उनलाई ‘प्रभाका पुत्र’, ‘प्रकाशका दूत’ र ‘स्वर्गको एक महत्त्वपूर्ण नेता’ मानिन्थ्यो । ‘लुसिफर’ को अर्थ ‘प्रकाश ल्याउने’ हुन्छ । ‘लुसिफर’ मा आफ्नो सौन्दर्य, शक्ति र ज्ञानप्रति अहङ्कार पलायो र उनले सोचे, “म पनि परमेश्वर जस्तै बनूँ । म सिंहासनमा बस्नयोग्य छु ।” त्यसपछि उनले अन्य स्वर्गदूतहरूलाई पनि आफूसँग मिल्न प्रेरित गरे र परमेश्वरविरुद्ध विद्रोह गरे ।

उनको सो विद्रोहपछि परमेश्वरले ‘लुसिफर’ र उनका अनुयायीहरूलाई स्वर्गबाट खसालिदिए । अनि ‘लुसिफर’ पतन भएको स्वर्गदूत बने । सो घटनालाई ‘लुसिफर’ को पतन भनिन्छ । स्वर्गबाट खसाइएपछि ‘लुसिफर’ को रूपान्तरण भयो । अनि उनी ‘लुसिफर’ मात्र नभई सैतान, दुष्टात्मा वा प्रलोभन दिनेका रूपमा चिनिए ।

नेपाली समसामयिक राजनीतिका सन्दर्भमा डा भुसालले कालो चस्मा लगाउने, जनतासँग सिधा आँखा उठाएर नहेर्ने, हात नमिलाउने, जुन निर्णय र कदम चाले पनि विवादास्पाद बन्ने साहलाई किन ‘लुसिफर’ भने, यो पत्ता लगाउने जिम्मा पाठकलाई ।

डिप स्टेट
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले यही असोज १३ गते फेसबुकमा नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा परेको, राष्ट्रिय शक्तिलाई कमजोर बनाउने उनीहरूका खेलबाट आफूलाई जोगाउन नसकेको र मुलुकको वैध सत्तालाई कमजोर बनाउने डिप स्टेटको प्रयोगशाला बनाइएको उल्लेख गरेका छन् । (फेसबुक पेज, २०८२ असोज १३) आफू हाल सत्तामै नरहे पनि यसअघि मन्त्री, मुख्यमन्त्री तथा पार्टीको महत्त्वपूर्ण पदमा रहेर उनले सत्ताको अत्यन्त निकट सरकारी संरचनाभित्र लुकेको सत्ताको छायालाई चिनेका छन् र अहिले त्यसले नै धावा बोलेको जनाएका छन् ।

सत्ता जोगाउन र कुम्ल्याउन जनताले प्रत्यक्षसँग नदेखेका र नचुनेका डिप स्टेटसँग नै मिलेका यिनीहरू अहिले सरकार आन्तरिक र बाह्य शक्तिबाट ढलेको जनाएर आफूहरूलाई चोखो देखाउन खोज्दैछन् । उनले सत्ता उल्टाउन देशीविदेशी शक्तिको हात देख्ने उनीहरू यथार्थमा तिनै तत्त्वसँग साँठगाँठ, मिलेमतो र षड्यन्त्रमा सामेल भएर शासनलाई एकलौटी बनाउने आन्तरिक क्रियाकलापमै संलग्न थिए भन्ने कुरा तिनले कस्ता कस्ता भ्रष्टाचारी, बिचौलिया र स्वार्थी समूहलाई अँगालेका थिए भन्नेबाट नै प्रस्ट थियो ।

मिडिया ट्रायल
रास्वपाकी तत्कालीन नेत्री सुमना श्रेष्ठले आफूमाथि आफ्नै दलका साथीहरूबाट ‘मिडिया ट्रायल’ हुने गरेको बताएर यो ‘फ्रेज’ लाई प्रयोगमा ल्याइरहेकी थिइन् । पार्टीभित्र असहमतिको आवाज नसुन्ने प्रवृत्ति देखिएको आरोप लगाउँदै पहिले पार्टीको उपमहासचिवबाट राजीनामा दिएकी उनले पछि पार्टीमा निरङ्कुशता तथा देशभन्दा माथि पार्टी र पार्टीमाथि व्यक्ति भएको भनी पार्टी नेतृत्वमाथि कडा आरोप लगाएर पार्टी परित्याग गरेकी उनले भनेकी थिइन्,“विभिन्न विषयमा पार्टीभित्र छलफल हुनुपर्नेमा त्यसको सट्टा मिडियामार्फत हाम्रै नेतृत्वद्वारा ममाथि मिडिया ट्रयाल गरिएको छ ।”

जेनजी आन्दोलनपछि एमाले अध्यक्ष ओलीलाई डेरा खोजिदिनेदेखि अन्य व्यवस्थापन गर्ने महेश बस्नेतले पनि यसलाई प्रयोगमा ल्याए भने सोही दलको भ्रातृ सङ्गठन प्रेस चौतारी नेपालले ओलीको राहदानी रोक्काको निर्णयलाई पनि सोही वाक्यांशको प्रयोग भएको विचार राख्यो । चौतारीका अध्यक्ष गणेश पाण्डेले विज्ञप्ति जारी गर्दै सरकारले निवर्तमान प्रधानमन्त्री ओलीलगायत नेताको राहदानी रोक्का गर्ने सिफारिस गरेर पूर्वाग्रही ढङ्गले मिडिया ट्रयायल चलाएको आरोप लगाए ।

अदालतले फैसला नसुनाउँदै मिडियामार्फत निर्णय गर्ने प्रवृत्तिलाई नै ‘मिडिया ट्रायल’ भनिन्छ जुन अहिले मिडियाको आमचलन नै बनिसकेको छ । अदालतले फैसला नगर्दै राजनीतिक, प्रशासनिक वा अन्य कुनै पनि अभियुक्तलाई भ्रष्टाचार गरेको, घुस लिएको, रङ्गेहात पक्रेको जस्ता वाक्यांश प्रयोग गरी हाम्रा मिडियाले राजनीतिक नेता वा प्रशासक वा कर्मचारीलाई उहिल्यैदेखि मिडिया ट्रायल गर्दै आएको छ ।

जखीरा
भारतमा हतियार, लागुपदार्थ आदिको थुप्रोसँग सम्बन्धित अपराधसम्बन्धी समाचारमा ‘जखीरा’ शब्द निकै प्रयोग हुन्छ । त्यहाँ नेता, राज्यका पदाधिकारी, न्यायाधीश, सरकारका सचिवलगायत सार्वजनिक पदमा रहेकाहरूको घर । आवासमा यस्तै नगद, नोट, सुन, गरगहनाको जखीरा फेला परेको समाचार पढ्न, सुन्न पाइन्छ ।

अस्वाभाविक जीवनशैली र आवासीय भवन भएका नेपालका नेता, मन्त्री, सैनिक–प्रहरी अधिकारी, न्यायाधीश, प्रशासकका घरमा पनि यस्तै नोट, सम्पत्तिका जखिरा भएको अड्कलबाजी गर्थे । आखिर जेन्जी आन्दोलनले नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा दम्पती र सोही दलका नेता एवं पूर्वमन्त्री दीपक खड्काका घरमा नोटका ‘जखिरा’ देखाइदियो ।

(उज्यालो नेटवर्क, २०८२ असोज ८) एउटा अनलाइन ‘टेकपाना’ ले देउवादम्पतीका घरमा त्यस्तो ‘जखिरा’ रहेको र त्यो जलेको अवस्थामा रहेको प्रमाणित गरिदियो । त्यस्तै ‘जखिरा’ अर्का पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बस्ने भवन र उनकी पुत्री गङ्गाका घरमा पनि ‘जखीरा’ रहेको मिडियाले जनाइदियो ।

जेन्जीले गरेको आन्दोलनमा आफू सक्रिय रूपले नलागे पनि त्यसको उपलब्धि आफूअनुकूल प्राप्त गर्न केही व्यक्ति समूहले यसलाई ‘हाइज्याक’ अर्थात् अपहरण गरेको शब्द पनि चल्न थालेको छ । विभिन्न समूह बनाएका ती अहिले कार्यसूची अगाडि बढाउन ‘कुहिराको काग’ पो बनेका छन् ।

नेपालमा जेन्जी आन्दोलनको ठिकपूर्व भएको ‘नेपो बेबी’ प्रदर्शनले नेताहरूका छोराछोरीको भव्य जीवनशैली, सजिलै सुविधायुक्त जीवन बाँच्न पाउने स्थितिप्रति विरोध गरेको थियो जसलाई नेता, दल र सरकारले बेवास्ता गरे । त्यसपूर्व नेपालमा चलिआएको ‘एनफ इज एनफ’ त शब्दावली त नेताहरू नै बढी प्रयोग गर्थे जो आफैँ बेथितिमा डुबेका थिए ।

कुनै पनि आन्दोलन हुनु र त्यसले नयाँ शब्द जन्माउनु वा सापटी लिएर नेपाली भाषासाहित्यको भण्डारलाई धनी बनाउनु नेपाली भाषासेवी एवं साहित्यकारका लागि सुखद नै मान्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्