Logo
Logo

छ सय वर्षदेखिको इतिहासको साक्षी झुप्राङकोट


378
Shares

गण्डकी । पोखरा महानगरपालिका–१६ को उत्तरी भागमा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल झुप्राङकोट झण्डै २,३०० मिटर उचाइमा अवस्थित छ । यहाँबाट उत्तरपूर्वतर्फ माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमशृङ्खला र दक्षिणतर्फ पोखरा उपत्यकाको मनमोहक दृश्य देख्न सकिन्छ ।

The current image has no alternative text. The file name is: jhuprangkot-pkr.jpg

इतिहासविद् ठाकुरप्रसाद त्रिपाठीका अनुसार १५औँ शताब्दीमा कास्कीकोटका राजा कुलमण्डन शाहका छोरा विदुरजी शाहलाई झुप्राङकोटको मुख्तियारी दिइएकाले यसको ऐतिहासिक महत्व निकै पुरानो छ । पछि मुख्तियारी आचार्य र गुरुङ समुदायले सम्हालेका थिए । यो क्षेत्र कास्की राज्यको सुरक्षार्थ बनाइएको सम्भावना रहेको त्रिपाठी बताउँछन् ।

किंवदन्तीअनुसार यहाँ दुई झुमा साधकले सिद्धी प्राप्त गरेकाले ‘झुमाकोट’ हुँदै ‘झुप्राङकोट’ नाम रह्यो भन्ने जनविश्वास छ । यस क्षेत्रलाई देवीस्थलका रूपमा पूजिँदै आएको र विभिन्न जातजातीले गुठी जग्गाको व्यवस्थासहित पूजा सञ्चालन गर्दै आएको पाइन्छ । औषधिजन्य वनस्पतिले पनि यो क्षेत्र प्रसिद्ध रहँदै आएको छ । किंवदन्तीअनुसार यहाँका जडीबुटीबाट तयार औषधि दिल्लीका सम्राटको दरबारसम्म पुर्‍याइन्थ्यो ।

पुरातत्व विभागका प्रमुख अधिकृत रमेशराज पौडेलले यस्ता ऐतिहासिक सम्पदाको संरक्षणका लागि सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए ।

झुप्राङकोट बहुउद्देश्यीय विकास समितिका अध्यक्ष तीर्थ गुरुङका अनुसार २०७४ सालदेखि चरणबद्ध रूपमा पर्यटन प्रवर्द्धनका काम अघि बढाइएका छन् । हाल पोखरा महानगर, गण्डकी प्रदेश र पर्यटन बोर्डबाट पदमार्ग, सिँढी र गुरुयोजना निर्माणका लागि बजेट विनियोजन हुँदै आएको छ । हालसम्म ७०० सिँढी निर्माण भइसकेका छन् ।

पर्यटन अभियन्ता टङ्क सुवेदीका अनुसार झुप्राङकोटदेखि नागीडाँडा, सिक्लेस, कपुचे हुँदै ताङ्तिङसम्मको पदयात्रा सम्भव छ । यहाँबाट माछापुच्छ्रे, धवलागिरि, पोखरा उपत्यका र स्याङ्जा, लमजुङ, तनहुँका भागहरू एकैसाथ देख्न सकिन्छ । प्राकृतिक रूपमा लालीगुराँस, चिमलो, कुरिलो, ऐँसेलु, निउरोजस्ता वनस्पति र निरमसी, सतुवा, दैचाम्ले लगायतका जडीबुटी यहाँ पाइन्छन् । चराचुरुङ्गीमा डाँफे, मुनाल, जुरेली, भ्याकुरदेखि चिल, काल्चेलसम्मका प्रजाति भेटिन्छन् भने वन्यजन्तुमा चितुवा, घोरल, मृग, ब्वाँसोलगायत छन् ।

स्थानीय युवा लीलाबहादुर गुरुङले यहाँ ‘टिहाउस’ सञ्चालन गर्दै पर्यटन सेवामा योगदान दिइरहेका छन् । गर्लाङ वा हर्पाकबाट डेढ घण्टा हिँडेर झुप्राङकोट पुगिन्छ ।

प्राकृतिक सौन्दर्य, पुरातात्विक महत्व र धार्मिक आस्थाले भरिपूर्ण झुप्राङकोट पोखराको उदीयमान गन्तव्यका रूपमा विकसित हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्