काठमाडौं । गणितलाई अंक र सूत्रभन्दा पर विचार र संवादको माध्यमका रूपमा स्थापित गर्ने उद्देश्यसहित देशभर ‘ग्लोबल म्याथ डिबेट लिग’ सुरु गरिएको छ । शिक्षाको क्षेत्रमा अग्रणी संस्था एम्बार्क अनम्याथले आयोजना गरेको यो कार्यक्रमले गणित सिक्ने र सिकाउने परम्परागत ढाँचा तोड्दै नयाँ सोचको सुरुवात गरेको हो ।

यो लिगको मुख्य उद्देश्य गणितलाई केवल शैक्षिक विषयका रूपमा होइन, तार्किक सोच, समस्या समाधान र विचार अभिव्यक्तिको अन्तर्राष्ट्रिय भाषाका रूपमा स्थापित गर्नु हो । कार्यक्रममार्फत विद्यार्थीहरूलाई गणितको प्रयोग गरेर सहकार्य, रचनात्मकता र विश्लेषणात्मक सोच विकास गर्न प्रेरित गरिनेछ ।
एम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बठिजाले भने– “ग्लोबल म्याथ डिबेट लिग हाम्रो त्यो विश्वासको प्रतिबिम्ब हो, जसले भन्छ— गणित केवल हिसाब–किताब होइन, सोच्ने र बुझ्ने नयाँ तरिका हो। यो लिगले विद्यार्थीहरूलाई कक्षाकोठाभन्दा बाहिरको सोच र अनुभव दिने राष्ट्रिय मञ्च बन्नेछ।”
५ हजारभन्दा बढी विद्यार्थीको सहभागिता
‘ग्लोबल म्याथ डिबेट लिग’मा पाँच हजारभन्दा बढी विद्यार्थी सहभागी हुने एम्बार्क अनम्याथले जनाएको छ । यस वर्ष स्क्रिनिङ राउन्ड, क्षेत्रीय छनोट र राष्ट्रिय फाइनल राउन्ड गरी तीन चरणमा प्रतियोगितामा हुनेछ ।
यी चरणहरूमा विद्यार्थीहरूले गणितीय तर्क, सार्वजनिक बोल्ने सीप र आलोचनात्मक सोचमा प्रतिस्पर्धा गर्नेछन् । यस प्रक्रियाले उनीहरूको विश्लेषणात्मक क्षमता, आत्मविश्वास र गणितप्रतिको व्यावहारिक दृष्टिकोणलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।
विचारशील नेतृत्वको तयारी
‘ग्लोबल म्याथ डिबेट लिग’ले नयाँ पुस्तालाई गणित र संवादको संयोजनमार्फत विश्लेषणात्मक रूपमा सोच्ने, प्रभावकारी रूपमा अभिव्यक्त हुने र समस्या समाधानमा दक्ष नेतृत्वकर्ताका रूपमा सशक्त बनाउने लक्ष्य लिएको छ ।
यो कार्यक्रमले गणितलाई केवल विषय होइन, जीवन हेर्ने दृष्टिकोणका रूपमा प्रस्तुत गर्दै देशव्यापी युवा बहसकर्ताको समुदाय निर्माण गर्न लागिपरेको छ ।
सन् २०१२ मा स्थापना भएको अनम्याथ स्कुलले विद्यालयस्तरमा गणित सिकाउने पद्धतिमा रूपान्तरण ल्याएको एक अग्रणी संस्था हो ।
यसको विस्तारित रूप एम्बार्क अनम्याथले ‘ग्लोबल म्याथ डिबेट लिग’, ‘म्याथ म्याराथन’ र ‘स्पेस म्याथ’ जस्ता कार्यक्रममार्फत सबै उमेरका विद्यार्थीहरूलाई गणितलाई रोचक, अर्थपूर्ण र प्रेरणादायी रूपमा बुझ्ने अवसर प्रदान गर्दै आएको छ ।











