काठमाडौँ । काठमाडौं महानगरपालिकाले लामो समयपछि खुलामञ्चलाई स्थायी रूपमा सर्वसाधारणका लागि खुला गर्ने तयारी अघि बढाएको छ।

विगतमा भूकम्पपछिका पुनर्निर्माण सामग्री भण्डारण, काठमाडौं टावर निर्माणका सामान राख्ने तथा अस्थायी बसपार्क सञ्चालन जस्ता कारणले प्रयोगमा आएको खुलामञ्च अहिले पुनर्निर्माण र सौन्दर्यीकरणको अन्तिम चरणमा पुगेको महानगरले जनाएको छ।
१४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा फैलिएको चउरमा प्राकृतिक नेपाली दुबो रोपिएपछि खुलामञ्चको रूपरंग निकै आकर्षक बनेको छ। उबडखाबड भाग मिलाएर मलिलो माटो राखेर गरिएको यो काम महानगरको ‘खेलकुद पूर्वाधार मर्मत–सम्भार तथा स्तरोन्नति कार्यक्रम’ अन्तर्गत पूरा गरिएको हो।
महानगरका सबै वडाको खेलकुद पूर्वाधार सुधारका लागि छुट्याइएको ६ करोड ९८ लाख ७० हजार रुपैयाँमध्येबाट खुलामञ्चमा दुबो रोप्ने काममा झन्डै ९० लाख रुपैयाँ खर्च गरिएको छ।
चउरको चारैतिर ४ मिटर चौडाइको नयाँ पैदल मार्ग निर्माण गरिएको छ। २१ वटा स्मार्ट बत्ती पोल जडान गरिएका छन्, जसले रातमा स्वचालित रूपमा बत्ती बाल्ने र दिनमा निभाउने सुविधा प्रदान गर्छन्। खुलामञ्चको कुल क्षेत्रफल २३ हजार ४ सय १५ वर्गमिटर रहेको छ।
पूर्वाधार तथा सजावटको सबै काम सकिएलगत्तै खुलामञ्च सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गरिने महानगरको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईले जानकारी दिए।











